काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षकका रूपमा सहभागी हुन हङकङ पुगेकी मन्त्री राणाले सो अवसरमा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । उक्त समारोहमा ३२ देशले महासन्धिमा हस्ताक्षर गरेका थिए ।
भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका विषयमा छलफल भएको थियो । मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई सधैँ महत्व दिएको उल्लेख गर्दै आर्थिक, सामाजिक विकासमा चीनबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण र वैदेशिक लगानीमा थप सहयोगको अपेक्षा गरेको बताइन् ।
मन्त्री राणाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने कुरा दोहोर्याइन् । उनले हालै सम्पन्न सगरमाथा संवादमा चीनको सहभागिताका लागि धन्यवाद दिँदै गत डिसेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताको कार्यान्वयनबारे पनि छलफल गरिन् ।
यस वर्ष कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइरहेकाले मन्त्री राणाले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताइन् । उनले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइन् ।
जवाफमा, विदेशमन्त्री वाङले सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै जलवायु परिवर्तन, वातावरण संरक्षण र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनमार्फत नेपालसँग सहकार्य गर्न तयार रहेको बताए । उनले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीको भ्रमणका सहमतिको कार्यान्वयन अघि बढाउन आग्रह गरे । मन्त्री राणाको निमन्त्रणा स्वीकार गर्दै उनले नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाए ।
विदेशमन्त्री वाङले मन्त्री राणाको नेतृत्वमा नेपालको कूटनीतिक क्षेत्रमा भइरहेका कार्यको प्रशंसा गर्दै विश्व महिला नेतृत्व फोरममा सहभागिताका लागि विशेष निमन्त्रणा दिए । मन्त्री राणा शनिबार काठमाडौँ फर्किनेछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन कतारका मन्त्रीलाई परराष्ट्रमन्त्री राणाको आग्रह
विपिन जोशीको रिहाइको पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
भारत भ्रमणमा ईपीजीको विषय उठाएनौँ : परराष्ट्रमन्त्री राणा
जयशंकरसँगको भेट फलदायी भयो : परराष्ट्रमन्त्री राणा