चितवन । दोलखामा हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रानिङ शिल्ड प्रतियोगितामा सहभागी हुन चितवनका खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । प्रतियोगितामा सहभागी हुन खेलाडीहरु आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले ट्र्याक सुट वितरण गरेको छ । आज बिहान भएको विदाई कार्यक्रममा सेन्ट्रल कलेजले एक सय ११ थान ट्र्याक सुट वितरण गरेको हो । सेन्ट्रल कलेजका प्रिन्सिपल प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष राजन कार्कीमार्फत खेलाडीहरुलाई उक्त ट्र्याक सुट हस्तान्तरण गरे ।
सो अवसरमा पौडेलले खेलाडीहरुलाई उच्च मनोबलसहित राम्रो प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । उनले प्रतियोगितामा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै चितवनको नाम थप चम्काउने विश्वास व्यक्त गरे । सेन्ट्रल कलेजले लामो समयदेखि यसरी नै खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उनले सेन्ट्रल कलेज सधैं खेल र खेलाडीको साथमा रहने बताए । सेन्ट्रल कलेजले राष्ट्रपति रनिङ शिल्डको अघिल्ला संस्करणमा पनि यसरी नै सहयोग गर्दै आएको थियो ।
खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले यस किसिमको सहयोगले खेलाडीहरुमा उत्साह थपिने बताए । उनले सहयोगका लागि सेन्ट्रल कलेजलाई धन्यवाद व्यक्त गरे । यस्तै उनले आगामी दिनमा पनि जिल्लाको खेल क्षेत्रलाई व्यवस्थित र बिकास गर्न कलेजले सहकार्य गर्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा चितवनले राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।
प्रतियोगितामा सहभागी हुन एक सय ९ खेलाडी, १२ प्रशिक्षक, ६ व्यवस्थापक र पदाधिकारीको टोली दोलखातर्फ प्रस्थान गरेको हो । चितवनले प्रयोगितामा ६ विधामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले कराते, तेक्वान्दो, एथ्लेटिक्स, भलिबल, उसु र कबड्डीमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १२ : ३२
लेखकबाट थप