न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट संवैधानिक इजलासमा

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, ११ : २०
न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट संवैधानिक इजलासमा

काठमाडौँ । न्याय परिषद् नियमावली २०७४ संशोधनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

रोलक्रममा अगाडि राखेर मुख्य रजिस्ट्रारबाट उच्च अदालतको न्यायाधीश बनाउनेगरी २०८० असोज १ मा न्याय परिषद् नियमावली २०७४ को संशोधन भएको थियो । उक्त संशोधनविरुद्ध स्वतन्त्र कानुन व्यवसायी संघका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जना अधिवक्ताले गत वैशाख २२ गते रिट दायर गरेका थिए ।

न्याय परिषद्ले न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन २०८० राजपत्रमा प्रकाशन गर्दै नियमावलीको नियम ११ को खण्ड ख पछि खण्ड ख १ र ख २ थप गरेको थियो । उक्त खण्डहरुमा सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएका व्यक्ति उच्च अदालतको न्यायाधीशमा नियुक्त हुँदा रोलक्रममा उच्च अदालतका मुख्य न्यायाधीश पछिको रोलक्रममा रहने व्यवस्था गरिएको छ । सोही खण्डमा मुख्य रजिष्ट्रबाट उच्च अदालतको न्यायाधीश भएकाहरुको हकमा पहिले नियुक्त हुने व्यक्तिहरु रोलक्रममा स्वतः माथि रहने व्यवस्था गरिएको छ ।

उक्त संशोधनविरुद्ध यसअघि २०८० असोज २१ गते सर्वोच्चमा रिट परेकोमा एकल इजलासले खारेज गरिदिएको थियो । संविधानसँग बाँझिएको विषय एकल इजलासले हेर्न नमिल्ने र त्यसले कानुनी मान्यता नपाउने दाबीसहित न्यौपानेसहित अधिवक्ताहरुले उक्त रिट खारेजी आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै पूरक निवेदन समेत दर्ता गराएका छन्। न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट र पूरक निवेदन लगाउमा राखेर आज सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस