ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

सफल खबर संवाददाता

बुधबार, १४ जेठ २०८२, १० : ०८
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

ओखलढुंगा । ओखलढुंगामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 

१३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचजना किशोरलाई पक्राउ गरेको छ। पक्राउ परेका किशोरलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइने ओखलढुंगाका प्रहरी प्रमुख डीएसपी मदन केसीले जानकारी दिए। 

केसीका अनुसार मोलुङ गाउँपालिका- २ की १३ वर्षीया किशोरीलाई १५ देखि १७ वर्ष उमेर समूहका पाँच किशोरले यही जेठ ११ गते सामूहिक बलात्कार गरेका उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो। 

किशोरीलाई आफूमाथि बलात्कार भएको विषय आमालाई जानकारी गराएपछि प्रहरीमा उजुरी परेको थियो। 

प्रहरीका अनुसार पाँचमध्ये दुईजनाले सहयोग गरेका र तीनजनाले बलात्कार गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ। 

पीडित पक्षबाट मंगलबार जाहेरी परेको र सोही दिन उनीहरुलाई पक्राउ गरिएको डीएसपी केसीले बताए।