फिल्म ‘स्पिरिट’मा प्रभासको अपोजिटमा तृप्ति डिमरी देखिने

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०८२, १२ : ०७
फिल्म ‘स्पिरिट’मा प्रभासको अपोजिटमा तृप्ति डिमरी देखिने

मुम्बई । भारतीय निर्देशक सन्दीप रेड्डी वांगाको फिल्म ‘स्पिरिट’मा प्रभासको अपोजिटमा तृप्ति डिमरी देखिने निश्चित भएको छ । दीपिका पादुकोणले फिल्म छोडेपछि, निर्माताले उनको ठाउँमा तृप्तिको नाम घोषणा गरेका छन् ।

अभिनेत्रीले इन्स्टाग्राममा पनि यो कुरा पुष्टि गरेकी छिन् । अनुबन्धित भएपछि तृप्तिले इन्स्टाग्राममा लेखिन्- ‘अझै पनि विश्वास गर्न सकिरहेको छैन । यो यात्रामा सामेल हुन पाउँदा म धेरै आभारी छु । धन्यवाद सन्दीप रेड्डी वांगा । तपाईंको भिजनको हिस्सा हुन पाउँदा म सम्मानित महसुस गर्छु ।’

तृप्तिले यसअघि निर्देशक रेड्डीसँग ‘एनिमल’मा काम गरिसकेकी छिन् । यो फिल्मले उनलाई लोकप्रिय बनायो । ‘एनिमल’को कारण उनले ‘नेसनल क्रस’को संज्ञा पनि पाइन् ।

तृप्ति र प्रभासले सँगै स्क्रिन सेयर गर्न लागेको यो पहिलो पटक हुनेछ । फिल्मको बारेमा कुरा गर्दा, यसको अहिले प्रि-प्रोडक्सनको काम चलिरहेको छ । छायांकन चाँडै सुरु हुनेछ । यो फिल्म भूषण कुमारले निर्माण गर्दैछन् ।

यो फिल्मको छायांकन सन् २०२४ को अन्त्यमा हुने भनिएको थियो तर दीपिका गर्भवती भएपछि छायांकन स्थगित गरिएको थियो । आमा बनेपछि दीपिकाले आफ्नो व्यस्त तालिकाका कारण फिल्म गर्न अस्वीकार गरेकी थिइन् ।

दीपिकालाई ‘स्पिरिट’को लागि २० करोड भारु पारिश्रमिक दिइएको खबर केही दिनअघि सार्वजनिक भएको थियो । दीपिकाको मागमा आठ घण्टाको सिफ्ट, ठूलो शुल्क, नाफामा हिस्सा र तेलुगुमा नबोल्ने लगायतका कुरा समावेश थिए । तर, यी कुरामा निर्माता सहमत भएनन् ।

दीपिका सेप्टेम्बर २०२४ मा आमा बनेकी थिइन् । त्यसैले उनी हप्ताको ५ दिनको लागि केवल ८ घण्टाको सिफ्ट चाहन्थिन् । अभिनेत्रीका यी सबै मागसँग सन्दीप खुसी थिएनन्, त्यसपछि उनले दीपिकालाई फिल्मबाट हटाए ।

प्रतिक्रिया दिनुहोस