विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

सफल खबर संवाददाता

आइतबार, ११ जेठ २०८२, १३ : ५५
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

निर्माणको काम सरकारी कार्यालय र निर्माण व्यवसायीको मात्र नभएको बताए । स्थानीयवासी र सरोकारवाला निकायको सकारात्मक सोच, निगरानी तथा भरोसाले पनि विकास निर्माणका काममा सहयोग पुग्ने बताए।

आज बिहान कर्णालीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने मूलपानी-रानी घाट-तेलपानी-भुरिगाउँ खण्डको सुरुआती बिन्दु वीरेन्द्रनगर-२ पलाटेमा मूलपानी-रानी घाट खण्डअन्तर्गत सात किलोमिटर सडकको स्तरोन्नति कार्यको शुभारम्भ गर्दै उनले पूर्वाधार विकासका काममा सरकारी निकाय र निर्माण व्यवसायीको मात्र जिम्मेवारी नहुने उल्लेख गरे । उनले सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा राखे ।

पूर्वाधार विकास निर्देशनालयले उक्त ठेक्का लगाएको थियो । यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्रीले बताए । “विकास यथाशीघ्र हुनुपर्छ, त्यसमा सबैको चासो हुनुपर्छ । रु. ३२ करोडमा ठेक्का खोलिएकामा निर्माण व्यवसायीले रु. १८ करोडमा उक्त ठेक्का लिएर कामको सुरुआत गरेको छ”, उनले भने ।

कर्णालीका पाँच जिल्लाले परापूर्व कालदेखि हिँड्ने बाटो रहेकाले यसको थप महत्त्व बढेको मुख्यमन्त्री कँडेलले बताए । सडक निर्माणसँगै चितवनको देवघाटजस्तै रानी घाटलाई प्रवर्द्धन गर्न प्रदेश सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए । यो मार्ग सम्पन्न भएपछि बर्दियाबाट सुर्खेत आउने जानेले दूरीका हिसाबले कम यात्रा गर्नुपर्ने जानकारी दिए ।

यो सडक कर्णालीको पर्यटन क्षेत्रका लागि मूल ढोका रहेको बताउँदै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय र प्रभावकारी काम गर्न आग्रह गरे । काम गर्ने क्रममा कुनै समस्या आएमा प्रदेश सरकारले सहजीकरण गर्ने उनले बताए ।

निर्माण व्यवसायीले असार, साउनमा पनि काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिऊ । उनले भने, “प्राविधिक साथीहरूले गुणस्तरीय काममा विशेष ध्यान दिनुपर्छ । विकासले जनताका आर्थिक, सामाजिक, पर्यटकीयलगायत सबै क्षेत्रको समृद्धिमा सहयोग पुर्‍याउने भएकाले यसको महत्त्व छ । आज शिलान्यास गर्ने भोलिदेखि सुनसान हुने काम नगर्न निर्माण व्यवसायीलाई अनुरोध छ । गुणस्तरीय सडक निर्माण गर्नका लागि सबैले समन्वय र सहयोग गरौँ ।”

 

प्रतिक्रिया दिनुहोस