कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानसँगै मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मूल आवश्यकता भएको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुभकामना सन्देश सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त तथा यो व्यवस्था ल्याउन आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति सम्मान प्रकट गर्दै मुख्यमन्त्री कँडेलले नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष र बलिदानपछि जननिर्वाचित संविधान सभाद्वारा नेपालको संविधान जारी भएको दिन ऐतिहासिक र महत्त्वपूर्ण दिन हो भने ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, “संविधान कानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्ताबेज हो । यसमा लिपिबद्ध नागरिक अधिकारलाई कार्यान्वयन गर्दै नागरिकका आवश्यकताको सम्बोधन लागि तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा स्थिर सरकारजस्ता मागहरू लिएर सडकमा आएको जेनजी पुस्ताको प्रदर्शनपछि देशैभरि भएका आगजनी, हिंसा र लुटपाटका घटनाका कारण उत्पन्न परिस्थितिले यतिबेला हामी सबैसामु गम्भीर चुनौती आएको छ ।”
लोकतन्त्र, कानुनी राज्य र विधिको शासनमा कहिल्यै कल्पना गर्न नसकिने गरी जेनजीको प्रदर्शनमा भएका त्यस प्रकारका घटनाले लोकतन्त्र र समृद्धिका पक्षधरहरू एकपटक फेरि राष्ट्र, राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षार्थ एक ठाउँमा उभिनुपर्ने र संविधानसँगै प्राप्त उपलब्धिहरूको जोगाउनुपर्ने अवस्था सिर्जना भएको बताउँदै मुख्यमन्त्री कँडेलले यो विषयलाई गम्भीरतापूर्वक लिन लोकतन्त्र पक्षधरहरू सबैलाई अनुरोध गरेका छन् ।
संविधान जारीपछि आवधिक निर्वाचनका माध्यमबाट तीन वटै तहका सरकारले विकास र समृद्धिको लय समाइरहेको अवस्थामा पछिल्लो घटनाक्रमले मुलुकलाई फेरि दशकौँ पछाडि धकेल्न भएको प्रयत्नको प्रतिवाद र नागरिकलाई राज्यप्रतिको भरोसा टुट्न नदिने गरी भरोसा बढाएर जानुपर्ने उनको भनाइ छ । वास्तविक यथार्थतालाई स्वीकार्दै सच्चिएर जानुपर्ने र संघीयता, लोकतन्त्र, समावेशी समानुपातिक व्यवस्थालगायतका महत्त्वपूर्ण उपलब्धिमाथि प्रहार गर्ने नियतका साथ गरिएका असंवैधानिक एवं अराजक गतिविधिबाट मुलुकलाई बचाउन सबै लोकतन्त्र एवं गणतन्त्रवादी शक्तिहरू एकताबद्ध हुन उनले हार्दिक अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेरी–बबईलाई ‘समस्याग्रस्त’ बन्न नदिन संघीय सरकारको विशेष पहल आवश्यक छ : मुख्यमन्त्री कँडेल
जेन जी आन्दोलनमा भएको तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल
तीन तहका सरकारबीच सम्बन्ध सुदृढ हुन आवश्यक छ : मुख्यमन्त्री कँडेल
स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल
‘बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ’: मुख्यमन्त्री कँडेल
‘शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक’ : मुख्यमन्त्री कँडेल