काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक सुरु भएको छ । जनमत पार्टीको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सचिवालय तथा मूल समितिलाई पूर्णता दिइने बताइएको छ ।
यसअघि जेठ १ गते महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा बसेको बैठकले सचिवालय गठन गर्ने निर्णय गरेको थियो । सचिवालय गठनका लागि सबै पार्टीले नाम दिइसकेका छन् । आजको बैठकले त्यसलाई अनुमोदन गर्ने बताइएको छ । बैठकले अगामी कार्य योजनाको बारेमा पनि छलफल गर्ने बताइएको छ ।
यसअघि बसेको बैठकले जनसङ्ख्या मानव विकास सूचकाङ्कलाई आधार मानेर बजेट विनियोजन हुनुपर्ने सरकारसँग माग गरेको थियो । बैठकले राजबन्दीहरूलाई विनाशर्त रिहाइ गर्न, संसदमा प्रस्तुत भएको भूमि विधेयकको सम्बन्धमा मोर्चाको धारणा तयार गर्ने र संविधान संशोधन बारे मोर्चाको यथाशीघ्र अवधारणा पत्र तयार गर्ने निर्णय गरेको थियो ।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ जेठ २०८२, १५ : १४
लेखकबाट थप