योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य

रासस

शनिबार, ०३ जेठ २०८२, ११ : १५
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजनाबद्ध विकासलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । आज धानखोला देउराली–हर्रे–चाक्ला मोटरबाटो कालोपत्रे सडक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् । 

प्रदेश सरकारले विकास निर्माणका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन प्रमुख प्राथमिकतामा राखेको उनले  स्पष्ट पारे । उनले प्रदेश सडक गुरुयोजना निर्माण गरिएको र सोही प्राथमिकताको आधारमा सडक क्षेत्रमा लगानी गरिने जानकारी दिए । परिणाम नदेखिने काममा सरकारले लगानी नगर्ने उल्लेख्य गर्दै आचार्यले साना र टुक्रे योजनालाई निरुत्साहित गर्न थालेको  बताए ।

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेशमा करिब ३ हजार सडक छन् । अहिले तीमध्ये ७ सय सडकलाई प्रदेश सरकारले हेर्नेगरी योजना अघि बढाइएको छ । धानखोला देउराली–हर्रे–चाक्ला मोटर बाटो सडकलाई बृहत् सडकको रूपमा प्राथमिकतामा राखिएको र सङ्घीय सरकारसँग समेत ती सडकमा बजेट विनियोजनका लागि पहल भइरहेको जानकारी उनले दिए ।

यसैबिच मुख्यमन्त्री आचार्यले रङ्गसिङ खोला क्षेत्रमा निर्माणाधीन पुल, तटबन्ध, सडक योजना तथा विद्यालय क्षेत्रको अनुगमन गरेका छन् ।सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको रङ्गसिङ खोला पक्की पुल छिटो सम्पन्न गर्नुपर्ने विषयमा छलफल भएको छ । छलफलमा बाढीले कटानको जोखिम बढाउने भएकाले तटबन्धको योजना अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ । त्यस्तै विद्यालयमा कक्षाकोठा थप गर्नुपर्ने लगायत विषयमा पनि अनुगमन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस