जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन : चित्रबहादुर केसी

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १२ : ०३
जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी नदी दोहन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकीबाट बालुवा र ढुंगा जथाभावी झिक्ने काम जारी रहेको तर सरकार रमिते बनेको आरोप लगाए ।

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै केसीले दोहन नरोकिए कालीगण्डकी कोरिडोर भासिने चेतावनी दिए । यसबारे अघिल्लोपटक पनि आफूले कुरा उठाएको बताउँदै उनले भने, ‘कालीगण्डकीमा बालुवा झिक्ने काम यति बढी भइराखेको छ कि, जनप्रतिनिधि र कर्मचारी मिलेर बालुवा झिकेकोझिक्यै, त्यहाँ केही लाग्दैलागेन, सरकार रमिते भएर हेरिराख्या छ । यदि त्यो बालुवा गिट्टी उत्खनन रोक्ने होइन भने त्यो कालीगण्डकी कोरिडोरको बाटो समेत भासिने स्थिति छ ।’

 

प्रतिक्रिया दिनुहोस