आज अन्तर्राष्ट्रिय सहनशिलता दिवस

एउटा यस्तो दिवस जसको बारेमा निकै कम नेपालीलाई थाहा छ

सूर्यप्रकाश कँडेल

शुक्रबार, ३० कार्तिक २०७५, ०७ : २९
एउटा यस्तो दिवस जसको बारेमा निकै कम नेपालीलाई थाहा छ

चितवन । अस्ति भर्खर १४ नोभेम्बरका दिन विश्व मधुमेह दिवस विश्वभर मनाइयो । यसका बारेमा धेरै नेपाली जानकार छन्, तर अन्तर्राष्ट्रिय सहनशिलता दिवस एउटा यस्तो दिवस हो, जसको बारेमा निकै कम नेपालीलाई थाहा छ ।

विश्व मधुमेह दिवसको दुई दिनपछि अर्थात् १६ नोभेम्बरमा विश्वभर अन्तर्राष्ट्रिय सहनशिलता दिवस (इन्टरनेशनल डे फर टोलरेन्स) मनाइन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक संगठन (युनेस्को) को आह्वानमा यो दिवस सन् १९९६ देखि मनाउन सुरु गरिएको हो । फरक सँस्कृति, सभ्यता र व्यक्तिबीच संवाद, समन्वय र सम्मान अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अन्तर्राष्ट्रिय सहनशिलता दिवस मनाइन्छ ।

सहनशिलता वृद्धिका लागि हरेक सरकारले अपराध र विभेदविरुद्ध कानुन निर्माण गर्नुपर्ने युनेस्कोले जनाएको छ । युनेस्कोले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार शिक्षा, सूचनामा पहुँच, व्यक्तिगत सचेतना र स्थानीय समाधानले पनि सहनशिलताको पक्षमा काम गर्न सहयोग पुग्छ । विशेषगरी अल्पसंख्यकविरुद्ध हुने विभेदपूर्ण व्यवहारको अन्त्यका लागि सहनशिलताको वृद्धि आवश्यक हुन्छ । यसैको लागि अन्तर्राष्ट्रिय सहनशिलता दिवस (इन्टरनेशनल डे फर टोलरेन्स) मनाउने गरिएको हो ।

सहनशिलतालाई मानवअधिकार र आधारभुत स्वतन्त्रताको मेरुदण्ड मानिन्छ । प्राकृतिकरुपमा भिन्न व्यक्तिहरुबीच सहनशिलता कायम रहेमात्र मानवअधिकारको रक्षा हुन सक्छ भन्ने मान्यताका साथ विश्वभर १६ नोभेम्बरमा अन्तर्राष्ट्रिय सहनशिलता दिवस (इन्टरनेशनल डे फर टोलरेन्स) मनाइन्छ ।
 

प्रतिक्रिया दिनुहोस