जुँगाको लडाइँले जहाँकाे त्यहीँ भयाे राप्रपा !

पत्रपत्रिकाबाट

विहीबार, २९ कार्तिक २०७५, ०७ : ३२
जुँगाको लडाइँले जहाँकाे त्यहीँ भयाे राप्रपा !

काठमाडौँ । तीनवटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको एकता वार्ता तत्कालका लागि भाँडिनुमा शीर्ष नेताबीच जुँगाको लडाईं नै प्रमुख कारकका रुपमा रहेको औंल्याइएको छ ।  २०४७साल जेठ १५ गते जन्मँदै दुई चिरा भएर स्थापना भएको राप्रपा २०७३ फागुन ६ गते एकीकृत भए पनि पुनः तीन चिरामा विभाजित भयो । 
विशेष गरी २०७४सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन नराम्ररी हार भोगेका राप्रपाकाका तीनवटै पार्टीका कार्यकर्ता एकताको पक्षमा देखिए पनि शीर्ष नेताबीच जुँगाको लडाईंले एकता वार्ता नै अघोषितरूपमा टुटेको हो । 

कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच केही समयदेखि एकताको राम्रै पहल भएको थियो ।
तीनवटा पार्टीबीच एकता हुँदा पार्टीको नाम, चुनाव चिह्न र झण्डा कसको रहने भन्ने अडान छँदैछ । राप्रपाका अध्यक्ष कमल थापासँग एकता वार्ता टुटेको हो भनी जिज्ञासा राख्दा उनले आफू एकताको पक्षमा रहेको र एकताको विषय संवेदनशील भएकाले थप टिप्पणी नगर्ने बताए । 
उता राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाए । 

 राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वार्ता प्रक्रिया अहिले स्थगित भएको छ, निर्वाचन चिह्न हलो हुनुपर्छ, संवैधानिक राजसंस्थाका विषयमा विवाद छैन भने । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस