पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत

सफल खबर संवाददाता

बुधबार, १७ बैशाख २०८२, १३ : ५९
पहिचानवादी शक्ति एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत

काठमाडौं । जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ । पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रज्ञा प्रतिष्ठानमा अनलाइनखबरसँग कुराकानी गर्दै यस्तो बतँएका हुन् । ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ,’ उनले भने ।

चौधरीलाई केहीबेरअघि प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ । यता दुई पार्टीबीच आज हुने भनिएको एकता सभा स्थगित गरिएको छ ।प्रवक्ता यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ ।

‘अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो,’ यादवले भने, ‘यो प्रक्रियालाई अघि बढाउन उपयुक्त देखिँदैन । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’ टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

अहिले रेशम पक्राउको विरोधमा प्रज्ञा प्रतिष्ठानमा नाराबाजी भइरहेको छ ।