काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी सहभागी नहुने भएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल (जसपा)ले सोमबार बोलाएको बैठकमा जनमत सहभागी नहुने भएको हो ।
मधेश केन्द्रित सात दलको मोर्चाले बैठक आलोपालो आह्वान गर्दै आएका छन् । आजको बैठक जसपा नेपालले आह्वान गरेको छ । सिंहदरवारस्थित जसपा नेपालको संसदीय दलको कार्यालयमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । छलफलका एजेण्डाहरुमा मोर्चाको निर्धारित कार्यक्रम, कुमार लिङ्देन तथा केपी पालुङ्वाको पार्टीहरूसँग मोर्चाको सहकार्य र विविधि राखिएको छ ।
जनमतप्रति जसपा नेपालको व्यवहार, रुपन्देही-३ उपनिर्वाचन लगायतका कारणले मोर्चाको बैठकमा संलग्न नहुने अवस्था बनेको जनमतका नेताहरूले बताएका छन् । ‘मोर्चाप्रति हाम्रा केही चासोका विषय छन् ।
ती मुद्दाबारे पार्टीभित्र पनि छलफल गरेर कसरी अघि बढ्ने कुरा हुन्छ । मोर्चाको आजको बैठकमा जनमत सहभागी हुँदैन’, जनमतका प्रवक्ता डा. शरदसिंह यादवले भने । गत चैतमा गठन भएको मोर्चामा जनमत, जसपा नेपाल, नाउपा, राजेन्द्र महतोको नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, महन्थ ठाकुर नेतृत्वको लोसपा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै