ऐनहरू पारित हुन नसक्दा नेपाल धेरै पछि परेको अनुभूति भएको छ: रक्षामन्त्री राई

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १५ : १९
ऐनहरू पारित हुन नसक्दा नेपाल धेरै पछि परेको अनुभूति भएको छ: रक्षामन्त्री राई

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले विभिन्न ऐन पारित हुन नसक्नुले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभूति भएको बताएका छन्। शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले अहिलेसम्म निजामती कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले नेपाल धेरै पछि परेको अनुभूति भएको  उल्लेख गरेका छन्।  उनले विधेयकमा धेरै कुरा मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गरे। उनले निजामती सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभई सबैको साझा विषय भएको बताए। उनले सरकारले समस्या फुकाउँदै छिटो ऐन पारित होस् भन्ने चाहेको बताए।

रक्षामन्त्री राईले भने, ‘विधेयकमा विमति रहेका विषयहरू पनि मलाई लाग्छ आउँदो केही दिनभित्र सहमति गरेरै टुंग्याउँछौँ। अन्तिममा हामी सहमतिमा पुग्ने हाम्रो परम्परा छ। निजामती सेवा ऐन बनाउने कुरा साझा विषय हो। राजनीतिक विषय नभएकाले यो विषयमा हामी सहमतिमै पुग्छौँ। आजसम्म हामी निजामती सेवा ऐन लागू गरिसकेका छैनौँ। विद्यालय शिक्षा ऐनको कुरा पनि बाँकी नै छ। सरकार समस्या फुकाउन चाहन्छ। ऐनहरू छिटो बनोस् भन्ने कुरा चाहन्छ।’

मन्त्री राईले निजामती सेवा ऐन अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गरेका छन्। 

 

प्रतिक्रिया दिनुहोस