सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० मध्ये २६ वटा बाख्रा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।
भेडी गोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए । गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए। उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।
एक्कासि आएको वर्षाले ठूलो क्षति गरेको बताउँदै बुढाले दु:खकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पसेको पहिरोका कारण २६ वटा बाख्रा मरेका र केही बेपत्ता रहेका उल्लेख गरे ।
आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडीगोठमा क्षति पुर्याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए।
वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली–२ अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्याएको उनीहरूले जानकारी दिए । यहाँका अधिकांश घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जाँदै
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री