काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच दुईपक्षीय प्रतिनिधिमण्डलस्तरको बैठकका क्रममा यी सम्झौता भएका हुन् ।
सरकारी स्तरबाट दुई एवम् गैरसरकारी तथा निजी स्तरबाट ६ वटा सम्झौता–समझदारीमा हस्ताक्षर भएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल सरकारका तर्फबाट थाइ सरकारसँग दुई सम्झौता हस्ताक्षर गरिन् ।
दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी–पत्रमा परराष्ट्रमन्त्री राणा र थाइल्यान्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री रोसावाङ तियन्थोङ्ले हस्ताक्षर गरे । त्यस्तै, दुई देशबीचको सांस्कृतिक सम्झौतामा परराष्ट्रमन्त्री राणा र थाइल्यान्डका संस्कृतिमन्त्री सुदावान वाङ्सुफाकिज्कोसलले हस्ताक्षर गरे ।
त्यस्तै, काठमाडौं विश्वविद्यालय र थाइल्यान्डको सियाम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य बढाउने तथा उच्च शिक्षामा नवप्रर्तनलाई प्रवर्द्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल नेत्रज्याति संघ र थाइल्यान्डको माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच पनि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाइ चेम्बर अफ कमर्श एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार अभिवृद्धिका विषयमा समझदारी भएको छ । सम्झौतामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाइ चेम्बर अफ कमर्श एन्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) र थाइ उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राइ थेननुकुलले समझदारीमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । समझदारी–पत्रमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाइल्यान्डका अध्यक्ष चाइ अरुनानोनडिचाइले हस्ताक्षर गरे ।
त्यस्तै, नेपालको जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधि मार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे ।
नेपाल र थाइल्यान्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ६५ वर्षमा औपचारिक भ्रमण गर्ने ओली नेपालका पहिलो प्रधानमन्त्री हुन् । थाइ समकक्षीसँग भएको दुई पक्षीय बैठकपछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको होटल व्यवसाय तथा हवाइ सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे ।
थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले आफूहरूबीच नेपालको प्राकृतिक स्रोतको उपयोग तथा जलविद्युत क्षेत्रको विकासका बारेमा कुरा भएको बताइन् । ‘हामीबीच व्यवसायलाई सहज बनाउने, व्यापारका अवरोध घटाउने र दुई देशको तुलनात्मक लाभका क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भयो,’ उनले भनिन् ।
नेपाल र थाइल्यान्डबीचको व्यापार बढाउन थाइ लगानीकर्ताले नेपालमा थप लगानी गर्ने विश्वास उनले व्यक्त गरिन् । बैंकक र काठमाडौंबीच हवाइ सम्बन्ध पुनःस्थापित हुनु र त्यो लुम्बिनीसम्म विस्तार हुनु महत्वपूर्ण भएको उनले बताइन् । यसले दुई देशका जनता जनताबीचको सम्बन्ध अझै सुदृढ भएको र दुवै देशमा पर्यटकको संख्यामा वृद्धि भएको कुरालाई स्वागत गरेको बताइन् । आफूहरूले शैक्षिक र स्वास्थ्य उपचार पर्यटनमा सहकार्यको कुरा गर्नुका साथै संयुक्त पर्यटन क्याम्पेन शुरु गर्ने विषयमा पनि कुरा गरेको उनले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० चैत्र २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ