चितवन । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयका तीन जना सदस्य यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्यका चुनावमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
सभापति रवि लामिछानेलाई निर्विरोध निर्वाचित बनाउन प्रस्तावक बनेर काठमाडौं फर्केका प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
प्रधानमन्त्री बालेनका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका थिए ।
राष्ट्रिय खुल्लाको ३२ सिटमा असिम शाहले उम्मेदवारी दिएका थिए ।
उनले १७३० मतसहित २८ औं नम्बरमा निर्वाचित भएका हुन् । उनलाई प्रवासबाट भने मात्र २ मत प्राप्त भएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख रहेका बेला वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्यको वातावरण निर्माणमा उनले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। गत वर्षको जेन–जी आन्दोलनका क्रममा उनले सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए। हाल उनी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्।
त्यस्तै, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खस आर्य पुरुषतर्फ र स्वकीय उपसचिव प्रकृति ढकालले खस आर्य महिला समुहबाट उम्मेदवारी दिएका थिए । दुवै समुहबाट ५ ÷५ जना निर्वाचित हुने रास्वपाको विधानमा ब्यवस्था थियो । सुदीप दोस्रो नम्बरमा १४३९ मत ल्याई निर्वाचित भएका हुन् । त्यस्तै प्रकृति महिला तर्फको पहिलो नम्बरमा १५३३ मत ल्याई निर्वाचित भएकी हुन् ।
सुदीप बालेन काठमाडौंको मेयर हुँदा काठमाडौं महानगरपालिकामा सूचना प्रविधि तथा सुशासन सल्लाहकारका रूपमा कार्यरत थिए। डिजिटल प्रशासन, सूचना प्रणाली विकास तथा डाटामा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन उनले योगदान दिएको बताइन्छ। जेन–जी आन्दोलनपछि भएको राजनीतिक समायोजन र रास्वपासँगको समन्वय प्रक्रियामा पनि उनले भूमिका खेलेका थिए।
यस्तै, प्रधानमन्त्रीकी स्वकीय उपसचिव प्रकृति ढकाल सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान तथा युवा नेतृत्व विकासका क्षेत्रमा सक्रिय उनी हाल सार्वजनिक नीति र अन्तरमन्त्रालय समन्वयका विषयमा काम गर्दै आएकी छन्। उनले बेलायतस्थित लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी थिइन् । बालेन स्वयम भने रास्वपाको बरिष्ठ नेता हुनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?