काठमाडौँ । जनमत पार्टीसँग एकताको विषयमा छलफल गर्न आज नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । पुरानो बानेश्वरको एक क्याफेमा बस्ने बैठकले डा.सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताको विषयमा छलफल गर्ने सो पार्टीका सांसद लालवीर चौधरीले बताए ।
‘एकताका सबै कुरा लगभग टुंगिसकेको छ, त्यसलाई औपचारिकता दिनका लागि आजको बैठक बोलाएको हो ’ उनले भने । दुवै पार्टीबिच पार्टीको चुनाव चिन्ह ढकिया हुने, अध्यक्षमा डा.सिके राउत, संरक्षक रेसम चौधरी र सहसंयोजक रञ्जिता श्रेष्ठ रहने सहमति भइसकेको छ । रञ्जिता श्रेष्ठलाई पार्टी सङ्गठन विभागको जिम्मेवारी दिने पनि स्रोतले जनाएको छ । त्यस्तै लालवीर चौधरीलाई पार्टीको प्रमुख सल्लाहकार संयोजकको जिम्मेवारी दिने लगभग तय भइसकेको छ ।
दुवै पार्टीका अन्य पदाधिकारी तथा नेताहरूको व्यवस्थापन आपसी सहमतिको आधारमा टुङ्गो लगाउने तयारी भइरहेको बताइएको छ । पार्टी नामको विषय टुङ्ग्याउन बाँकी छ । अध्यक्ष सिके राउतले पार्टीको नाम ‘जनमत पार्टी’ नै राख्ने भनिरहेका छन् भने रेसम चौधरीले नागरिक जनमत पार्टी राख्न प्रस्ताव गरेका छन् ।
दुई दिनसम्म चल्ने सो बैठकमा पार्टी शुद्धीकरणको विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा रेसम चौधरी जेलमा हुँदा स्थापना भएको बेलाका केन्द्रीय सदस्य, केन्द्रीय सदस्यमा अनुमोदन भएका पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार, पालिका प्रमुख–उपप्रमुखहरू र प्रथम महाधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय सदस्यहरू सहभागी हुनेछन् । संस्थापक सदस्यहरू पनि बैठकमा सहभागी हुनेछन् ।
बैठकमा आउँदा केन्द्रीय सदस्यहरूका लागि पार्टीले प्रदान गरेको केन्द्रीय सदस्य प्रमाणपत्र अनिवार्य गरेको छ । सो प्रमाणपत्र नहुनेले बैठकमा सहभागी हुन पाउने छैन । त्यस्तै पार्टीले कारबाही गरेका केन्द्रीय सदस्यलाई बैठकमा सहभागी नगराइने बताइएको छ ।
पार्टी अध्यक्षको विषयलाई लिएर निर्वाचन आयोग तथा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीलाई अद्यावधिक गरेको छैन ।
यही अवस्थामा नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीसँग एकता गरिरहेको छ । प्रतिनिधिसभामा जनमत पार्टीका ६ जना सांसद रहेका छन् भने नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन् । दुवै पार्टीबिच एकता भयो भने नयाँ पार्टीसँग १० सांसद हुनेछन् । त्यो दल मधेसवादी दलमध्ये सबभन्दा ठुलो दल हुन्छ भने प्रतिनिधिसभामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)को बराबरीमा पुग्छ ।
अहिले दुवै दलले वर्तमान सरकारलाई समर्थन गरेको छ । नागरिक उन्मुक्ति पार्टी प्रदेशदेखि केन्द्रसम्म सरकारमा सहभागी छ भने जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरेको छ ।
मधेस प्रदेशमा जनमत पार्टीका १३ सांसद छन् भने नागरिक उन्मुक्ति पार्टीका एक जना छन् । लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका चार जना सांसद छन् भने जनमत पार्टीको तीन जना सांसद छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सात जना सांसद छन् ।
कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा दुवै पार्टीको एक जना पनि सांसद छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परिवारमै फुटको राजनीति : नागरिक उन्मुक्ति पार्टीको संकट र रेशम-रञ्जिता सम्बन्धको समीकरण
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
रञ्जिताले स्पष्टीकरण नबुझाएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ