काठमाडौं । कुनै समय थियो, जब रेशम चौधरीलाई अन्यायको प्रतिकको रूपमा चित्रित गरिँदै ‘नागरिक उन्मुक्ति पार्टी’ (नाउपा) गठन भयो ।
टीकापुर घटनाको नालीबेली, त्यसपछिको राजनीतिक प्रपञ्च, चुनावी सफलता र सरकारसम्मको पहुँच-यी सबैको केन्द्रमा थिए रेशम चौधरी । तर आज, त्यही पार्टीभित्र असाधारण रूपमा सफल पारिवारिक समीकरण असाधारण असफलतामा परिणत भएको छ । अबको संघर्ष टीकापुर घटनासँग होइन, चौधरी परिवारभित्रको शक्ति सन्तुलनसँग देखिएको छ ।
पार्टी गठनको केन्द्रीय सन्देश थियो - ‘रेशममाथि अन्याय भयो, न्याय दिलाऔं ।’ यस नाराले २०७९ को निर्वाचनमा जनमत बटुल्यो । जेलमै रहेका रेशमका लागि पत्नी रञ्जिता श्रेष्ठले पार्टी अध्यक्षको हैसियतमा नेतृत्व गरिन् । चुनावमा तिनै रञ्जिता कैलाली –१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भइन् । रेशमका पिता लालवीर चौधरी पनि बर्दिया २ मा स्वतन्त्रबाट जिते । कैलाली २ मा नागरिक उन्मुक्तिकै अरुणकुमार चौधरीले जिते । केही प्रदेश र स्थानीय तहमा पनि उल्लेखनीय सफलता प्राप्त भयो ।
यी नतिजाले नाउपाभित्र शक्ति र सम्भावनाको स्रोतको रूपमा “परिवार“ लाई स्थापित ग¥यो । रञ्जिता अध्यक्ष भइन्, मन्त्री पनि बनिन् । केपी ओली नेतृत्वको सरकारमा अरुण चौधरी अहिले पनि रान्यमन्त्री छन् । भलै, ओली नेतृत्वको सरकारलाई नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको बताएको छ । तर न मन्त्रीले राजीनामा दिएका छन्, न उनलाई प्रधानमन्त्रीले नै हटाएका छन् ।
रेशम जेलमुक्त भएपछि संरक्षकको रूपमा देखा परे । तर यहींबाट सुरु भयो– नाउपाको झुण्डिएको कथाको भित्री संघर्ष ।
पारिवारिक राजनीति : शक्ति सन्तुलनको संकट
नाउपाको पछिल्लो संकट केवल राजनीतिक होइन, पारिवारिक द्वन्द्वको सार्वजनिक प्रदर्शन हो । एकै घर, एकै पार्टी, तर फरक फरक दाबी । रेशम चौधरी अहिले पार्टीका संरक्षक हुन्, पत्नी रञ्जिता अध्यक्ष थिइन्, र बाबु लालवीर हालै राष्ट्रिय भेलाबाट अध्यक्ष घोषित भएका छन् । तर यो स्थानान्तरण ‘सामूहिक सहमति’ भन्दा पनि ‘आन्तरिक असहमति’ को उपज हो ।
रेशम जेलबाट छुटेपछि नाउपामा पार्टीभन्दा परिवारको वर्चस्वको चर्चा सुरु भयो । सार्वजनिक रूपमा आलोचना नगरे पनि रञ्जिताको विकल्प खोज्नेहरूको संख्या बढ्दै गयो । रञ्जिताले पार्टीलाई निष्क्रिय तुल्याएको आरोप लाग्यो । पटकपटक बैठक नबोलाएको, कार्यविधि विपरीत कार्यवाहक अध्यक्ष तोकेको, पोखराको लिचिबारी जग्गा प्रकरणमा संलग्न भएको लगायत पाँच प्रमुख आरोप लगाउँदै उनलाई अध्यक्षबाट हटाउने निर्णय गरियो ।
तर उनको बर्खास्ती प्रक्रिया आफैंमा विवादित भयो । बैठकको वैधानिकता, नयाँ अध्यक्ष चयन प्रक्रिया, तथा विधानको व्याख्या सबै पक्षले फरक ढंगले गरे । खासगरी, अध्यक्ष पदबाट हटाइएपछि पार्टीले जसलाई अध्यक्ष बनायो, ती लालवीर चौधरी हुन् - रञ्जिताका ससुरा र रेशमका पिता । यही घटनाले नाउपाको राजनीति “परिवारको भित्री लडाइँ” मा सीमित भएको तस्बिर सार्वजनिक बनाएको छ ।
रेशमको समीकरण : पत्नी कि पिता ?
नाउपाको नेतृत्वमा अबको दिशा कुनतिर मोडिन्छ भन्ने निर्धारण सम्भवतः रेशम चौधरीकै हातमा हुनेछ । पत्नी रञ्जितालाई हटाएर बाबु लालवीरलाई अध्यक्ष बनाउने प्रक्रियामा मुख्य भूमिका रेशम चौधरीले नै खेले ।
‘डेढ वर्षदेखि बैठक नभएको, पार्टी निष्क्रिय बनेको, चुनाव नजिकिएकाले वैधानिक निकास खोजिएको’ भन्ने रेशमका भनाइ रञ्जितामाथिको असन्तुष्टि मात्र होइन, रणनीतिक अस्वीकार जस्तो लाग्छ । पत्नीलाई अध्यक्ष बनाएका रेशमले पछि बाबुलाई अघि सार्नुले सम्बन्धमा पनि चिसोपन झल्काउँछ ।
सामान्यतया एक पक्ष बलियो रहनुमा परिवारभित्रको विश्वास र सहकार्य निर्णायक हुन्छ, तर नाउपाको अवस्थाले रेशमको आन्तरिक सम्बन्ध व्यवस्थापन असफल भएको देखिन्छ । एकातिर जीवनसंगिनी, अर्कोतर्फ जन्मदाताको बीचमा उनी छन् ।
‘फेमिली पार्टी’ मा फूट : वैधानिकता र नेतृत्वको दोधार
रञ्जिता श्रेष्ठको मुख्य दाबी छ - ‘बैठक अवैध छ, अध्यक्षलाई मात्र राष्ट्रिय भेला बोलाउने अधिकार छ ।’ उनले बैठकको संयोजक रामलाल डगौरा र संसदीय दलका नेता गंगाराम चौधरीलाई समेत स्पष्टीकरण सोधेर आफैं पार्टी अध्यक्ष भएको दाबी कायम राखेकी छन् । निर्वाचन आयोगमा दर्ता नहुँदै गरिएको निर्णय मान्य नहुने पनि उनले प्रष्ट संकेत गरेकी छन् ।
उता, महासचिव ठाकुरसिंह थारूले भने रञ्जिताको हटाइ विधिसम्मत भएको, केन्द्रीय समिति र राष्ट्रिय भेलाको निर्णयलाई विधानअनुसार अगाडि बढाइएको तर्क गरेका छन् । अध्यक्ष हटाउने निर्णय कानुनी उपचार खोज्नुपर्ने अवस्थामा पनि पार्टी तयार रहेको दाबी गरिएको छ ।
यसबीच, पार्टीको निर्वाचन आयोगमा अद्यावधिक प्रक्रिया रोकिएको, पुस ८ को महाधिवेशन आयोगले मान्यता नदिएको, र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको सन्दर्भ जोडिँदा पार्टी नेतृत्व अझ अन्योलमा परेको छ ।
रञ्जिताको अवसान, लालवीरको आगमन : संकेत के?
लालवीर चौधरी पार्टीको संस्थापक हैनन् । उनी २०७९ को चुनाव अघि मात्र पार्टीमा प्रवेश गरेका थिए । एमालेबाट पराजित उम्मेदवारका रूपमा परिचित लालवीरले रेशमकै भरमा स्वतन्त्रबाट जितेका थिए । उनी नेतृत्व क्षमताको हिसाबले मुलधारमा खासै देखिएका थिएनन्, तर अहिले अध्यक्ष बन्न सफल भएका छन् ।
यो केवल नेतृत्व हस्तान्तरणको प्रक्रिया होइन, पारिवारिक सत्ता सन्तुलनको पुनरसंरचना हो । रञ्जितालाई हटाएर लालवीरलाई ल्याउनु भनेको ‘शक्ति पत्नीबाट बाबुतिर’ सराइ दिनु हो - जसको नियन्त्रक रेशम आफैं हुन् । तर यसले पार्टीभित्र असन्तुष्टि पनि बढाएको छ । कतिपय नेताले ‘पार्टी परिवारवादको घेराभित्रै सीमित भयो’ भन्दै असन्तुष्टि जनाएका छन् ।
नाउपाको भविष्य कुन दिशातिर ?
नागरिक उन्मुक्ति पार्टीको भविष्य अबको दिनमा के हुन्छ भन्ने निर्भर छ- निर्वाचन आयोगले नयाँ अध्यक्षलाई मान्यता दिन्छ वा छैन ?
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०८२, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उन्मुक्ति पार्टीले रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटायो
रञ्जिताले स्पष्टीकरण नबुझाएपछि अनुशासन समितिको निर्णयलाई राष्ट्रिय भेलाले अनुमोदन गर्ने
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
नाउपाद्वारा सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ
जनमत र नाउपाबीच १७ गते एकीकरण घोषणा हुने