नारायणगढ-मुग्लिन सडकखण्ड

मुग्लिनको बाटो रातमा छ घण्टा बन्द, यसरी मिलाइँदैछ सवारी रुट

मंगलबार, १८ पुस २०७४, १२ : ३६
मुग्लिनको बाटो रातमा छ घण्टा बन्द, यसरी मिलाइँदैछ सवारी रुट

चितवन । सुस्त गतिमा पुनर्निर्माण कार्य अगाडि बढेको नारायणगढ मुग्लिन सडकखण्डमा मंगलबार रातिदेखि ६ घण्टा यातायात बन्द गरिने भएको छ । सडक बिस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुरले मंगलबार नारायणगढ मुग्लिन सडक राति दस बजेदेखि बिहान चार बजेसम्म बन्द हुने सूचना जारी गर्दै आवश्यक सवारी रुटबारे जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुरका प्रहरी निरीक्षक सन्तोष पन्तद्वारा जारी सूचनामा काठमाडौँबाट छुट्ने रात्रि बसहरु राति १० बजेभित्र मुग्लिङ बजार पार गरिसक्ने र पूर्व तथा पश्चिम तर्फबाट काठमाडौँ, पोखरा जाने बसहरु बिहान तीन बजे रामनगर पार गर्ने गरी समय व्यवस्थापन गरिने उल्लेख छ ।
काठमाडौँबाट नारायणगढतर्फ आउने मालवाहक सवारी साधनहरु राति नौ बजे नै लेवाटर पार गरिसक्ने र त्यसपछि आउने मालवाहक सवारी लेवाटार ईलाकामा एक लाईनमा बिहान चार बजेसम्म बस्ने गरी व्यवस्थापन मिलाइने प्रहरी निरीक्षक पन्तले बताए ।
पूर्व वा पश्चिमबाट मुग्लिनतर्फ जाने मालवाहक सवारी साधनहरु राति नौ बजे नै रामनगरको भतेरी जंगल ईलाका पार गरिसक्ने र त्यसपछि आउने मालवाहक सवारी भतेरी जंगल ईलाकामा एक लाईनमा बिहान चार बजेसम्म बस्ने गरी व्यवस्थापन मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामनगर, भतेरी, दासढुंगा, मुग्लिन बजार र लेवाटारमा एक लाईनमा मात्र सवारी रोक्न, राति १० बजेदेखि बिहान चार बजेसम्म नारायणगढ मुग्लिन सडकखण्डमा सुरक्षाको दृष्टिकोणले कुनै पनि सवारी छोड्न नसकिने हुँदा आफ्नो यात्राको व्यवस्थापन गर्न र सवारी छुटेको समयमा ओभरटेक नगरी आफ्नो लेनमा धैर्यताका साथ यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

गत साता जिल्ला प्रशासन कार्यालय चितवनमा सम्पन्न सरोकारवालाहरुको बैठकले पुस १८ गतेदेखि राति छ घण्टा र दिउँसोको समयमा आवश्यकता अनुसार एकातर्फी सवारी सञ्चालन गरेर कामलाई तिब्रता दिने निर्णय गरेको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादव, सुरक्षा निकायका प्रमुखहरु, ठेकेदार कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

बैठकले रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायतका कालोपत्रे बाहेकका काम गर्ने र दिउँसोको समयमा एकातर्फी सवारी सञ्चालन गरेर कालोपत्रेको कामलाई अगाडि बढाउने, ट्राफिक व्यवस्थापनलाई चुस्त बनाई सवारी आवागमन प्रभावकारी बनाउने, सवारी रोकिएको समयमा कामलाई तिब्रता दिने, रातको समयका काम गर्न विद्युत प्राधिकरणसँग समन्वय गरी उज्यालोको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख इञ्जिनियर चन्द्रनारायण यादवका अनुसार, अहिलेसम्म समग्रमा ६८ प्रतिशत काम सम्पन्न भएको छ । आँपटारीदेखि मुग्लिनसम्मको तीन खण्डमा रहेको ठेक्कामध्ये दुई नम्बरमा ७४, एक नम्बरमा ६८ र तीन नम्बरमा ६१ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख यादवले बताए । सडकखण्डको १६ किलोमिटर, २२ किलोमिटर, २९ किलोमिटर र ३३ किलोमिटर क्षेत्रमा पहाड काट्ने काम बाँकी छ ।

प्रतिक्रिया दिनुहोस