हुम्ला । विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित बनेको छ । हिउँदयाममा दैनिक विद्युत् भारको कटौतीले जिल्ला अस्पतालको सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन्।
अस्पतालमा एक्स-रे, प्रयोगशाला र दमका सेवाहरू सञ्चालनमा कठिनाइ भएको उनले बताइन् । दैनिक दर्जनौँ बिरामी मर्कामा पर्ने गरेका छन् । अस्पतालमै विद्युत् अनियमित भएपछि बिरामीहरूलाई दिनभर कुराउनाका साथै टाढाबाट आएकाहरू बढी समस्यामा पर्ने गरेको उनको भनाइ छ ।
तीन, चार दिनयता घाम नलागेर बाक्लो बादल लागेका कारण अस्पतालको सौर्य ऊर्जाले काम नगरेको र हेल्दुम वितरण केन्द्रले ‘लोडसेडिङ’ १४ घण्टासम्म गर्नले थप समस्या भएको हो । अस्पतालका शय्यामा भर्ना भएका ६ जना दमका बिरामीलाई अक्सिजन दिन समस्या भएको छ । अधिकांश दमका बिरामीलाई फर्काउने अवस्था आएको अस्पतालले जनाएको छ ।
विद्युत् कार्यालयले भने खोलामा पानी कम भएका कारण सदरमुकाम सिमकोटसहित आसपासमा विद्युत् भारको कटौती जनाएको छ । विद्युत् कार्यालय प्रमुख जीतेन्द्र शाहले अस्पतालमा नियमित विद्युत् उपलब्ध गराएको दाबी गरे । “अस्पतालको आन्तरिक समस्याले विद्युत् लाइन उपलब्ध नभएको हुनसक्छ, हामीले अस्पताललाई विद्युत् कटौती गरेका छैनौँ”, प्रमुख शाहले भने ।
अस्पताल मात्रै नभएर अन्य कार्यालय, स्थानीय उद्योग र स्थानीयसमेत विद्युत् कटौतीको मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
लमजुङमा १७ विद्युत् आयोजनाबाट बिजुली उत्पादन
रुकुम पश्चिमका २२ हजार घरधुरीमा जोडियो केन्द्रीय विद्युत्