सुर्खेत । नेपाली काँग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताएका छन्।
आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन्।
पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ।’
उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए । ‘काम चमत्कारिक र द्रुत रूपमा सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो सोच हो । परिस्थिति हेर्दा सेवा प्रवाह सहज बनाउन अध्यादेश ल्याउनु आवश्यक भएको हो,’ उनले थपे।
कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, कर्णालीका अर्थमन्त्री राजीवविक्रम शाहीलगायतका उल्लेख्य नेता कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए ।
पार्टीभित्रको भावी सभापतिका दाबेदारहरूको बारेमा अहिले विभिन्न अड्कलबाजी भइरहेका बेला सिंहले आफू कुनै पनि हालतमा पछाडि नहट्ने संकेत गरेका छन्। सिंहसहित संस्थापन पक्षका ११ जनाले सभापति देउवालाई भेटेर उत्तराधिकारी को भनेर प्रश्न गरेका थिए ।
‘जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन,’ उनले दोहोर्याउँदै भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्ने भन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ।’
उनले आफ्नो राजनीतिक यात्रा विद्यार्थीकालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा अपुग्दासम्मका अनुभवले उनलाई थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको दाबी गरे। ‘मैले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने अठोट गरेको छु’ उनले भने।
नेपाली काँग्रेसको आसन्न महाधिवेशनलाई लिएर आन्तरिक रस्साकस्सी बढ्दो छ। सभापति पदका लागि विभिन्न नेताहरूले दाबी गरिरहेका छन्। देउवा पक्षबाट निरन्तरता दिने संकेत मिलिरहेका बेला अन्य नेताहरू संस्थागत सुधारको नारा दिएर मैदानमा उत्रने तयारीमा छन्।
सिंहले यसै सन्दर्भमा आफू संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताएका छन् । पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वाभाविक हो, तर प्रतिस्पर्धा विधि र विधानअनुसार हुनुपर्छ। पार्टीलाई बलियो बनाउन महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्छ, विवादका रूपमा होइन,’ उनले जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह
सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह
बागमती सभ्यतालाई कायम राख्न भइरहेका कामकारबाहीप्रति शहरी विकास मन्त्रीले जनाए असन्तुष्टि
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
नयाँ बजेट नागरिकले महसुस गर्ने विकासको खाकासहित आउँछ : उपप्रधानमन्त्री सिंह