म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ। जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो।
स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए।
‘जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो,’ उनले भने, ‘कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो।’
थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ। बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताए।
गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ। स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ। स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ।
स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताए। गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उनले अनुभव सुनाए। बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ०९ : ४३
लेखकबाट थप