चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरु गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
केही वर्ष अघिनै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष छ वटा गैँडा स्थानान्तरण गरिएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार आन्तरिक स्थानान्तरणको कामका लागि सबै तयारी पूरा गरिएको छ । प्राविधिक टोलीले पश्चिम क्षेत्रको अमलटारी सेक्टरबाट गैँडा स्थानान्तरणको तयारी सुरु गरेको उनको भनाइ छ । निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने छ ।
उनले भने, ‘अहिले हामीले दुईवटा भाले र दुई वटा पोथी गैँडा स्थानान्तरण गर्दै छौँ ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । प्रतिवेदनमा कसराबाट पश्चिम क्षेत्रमा ६० प्रतिशत गैँडा रहेको र उनीहरूको स्थानान्तरण गर्नसके वासस्थान सहज हुने उल्लेख थियो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पश्चिम क्षेत्रबाट ल्याइएका गैँडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोड्ने तयारी गरिएको उनको भनाइ छ । गैँडा स्थानान्तरणका लागि विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलसहितको टोली चितवन आएको उनले जानकारी दिए ।
तीन वर्षअघि विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक बेद कुमार ढकालको नेतृत्वमा अध्ययन टोली गठन गरी अध्ययन गरेको थियो ।
पछिल्लो गणना अनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे