म्याग्दी । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ ।
साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी-जोमसोम-कोरला सडक योजनाले जनाएको छ ।
तल बग्ने कालीगण्डकीले बनाएको खोच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएपछि रक एंकरिङ गरिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए ।
उनका अनुसार सडक मुनीको पहाडमा ड्रिलिङ गरेर रड राखी, कंक्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो । रक एंकरिङ गर्न एक सय मिटर लम्बाईको दुरीमा ड्रिलीङ गरेर फलामको रड राख्ने प्वाल (होल) बनाइएको छ ।
रक एंकरिङ गर्नुपर्ने ठाउँको तीन दशमलव पाँच मिटर फराकिलो सडकमा हाल एकतर्फी मात्र सवारी साधन चल्ने गर्छन् । यसलाई दुईतर्फी सवारी साधन चल्ने बनाउन सात देखि आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।
बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले मजदुरहरू रसिमा झुण्डीएर रड राख्ने प्वाल बनाएका बताए। रक एंकरिङको काम अन्तिम चरणमा पुगेको र सडकलाई ढलान गर्ने तयारी भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २२ मंसिर २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध कालीगण्डकी करिडोर दुई दिनपछि सञ्चालन
गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा
कालीगण्डकी करिडोर: बादरजुङ र काभ्रेभिरको यात्रा सहज