पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता

चितवन राइनोज् पोखरा प्रस्थान, हात पार्ला त २५ लाख रुपैयाँ ?

सूर्यप्रकाश कँडेल

मंगलबार, ०६ कार्तिक २०७५, १५ : ३२
चितवन राइनोज् पोखरा प्रस्थान, हात पार्ला त २५ लाख रुपैयाँ ?

चितवन । उपाधि विजेतालाई अहिलेसम्मकै सर्वाधिक धनराशीको पुरस्कार दिने दाबी गरिएको पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता खेल्न चितवन राइनोज् टिम मंगलबार भरतपुरबाट पोखरा प्रस्थान गरेको छ । चितवन राइनोज्को सम्मानमा सोमबार साँझ भरतपुरमा आयोजित विशेष कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खादा ओढाएर खेलाडीहरुलाई बिदाई गर्नु भएको थियो ।

चितवन राइनोज्का प्रमुख राहुल महराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि दाहालले खेलाडीहरुलाई जितको लागि शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर महानगरपालिकाभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने काम जमिनको कारणले ढिलाई भइरहेको छ । लम्बाई र चौडाई मिलेको जग्गा हामीले भेट्टाइसकेका छौँ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा रहेको त्यो जग्गाको स्वामित्व त्रिभुवन विश्वविद्यालयसँग रहेकोले स्वामित्व हस्तान्तरणमा केही ढिलाई भइरहेको जानकारी गराउँदै महानगर प्रमुख दाहालले अब निकट भविष्यमै जग्गा महानगरको स्वामित्वमा आउने बताउनु भयो । ‘जग्गा प्राप्तिका लागि दुबै विश्वविद्यालय र भरतपुर महानगरबीच सम्झौता भई त्यस सम्बन्धी फाइल मन्त्रिपरिषद्मा पुगिसकेको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय गर्ने आशा गरेका छौँ ।’

महानगर प्रमुख दाहालले सरकारीस्तरबाट खेलकुदको क्षेत्रमा पर्याप्त लगानी हुन नसकेको स्वीकार्दै भरतपुर महानगरपालिकाले खेलका लागि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले भीमनगरमा फुटबल रंगशाला, रामपुरमा क्रिकेट रंगशाला र भरतपुरमा सिटी हल निर्माण गर्ने योजना रहेको जानकारी दिँदै यसले भरतपुर र समग्र चितवनकै पर्यटन प्रवद्र्धनको काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चितवन राइनोज्का मार्की प्लेयर पारस खड्काले सरकारले खेलकुदको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको बताउनु भयो । ‘सरकारले लगानी नगर्दा पनि क्रिकेटमा हामी यहाँसम्म आइपुगेका छौँ’ उहाँले भन्नुभयो, ‘सरकारले खेलकुदमा लगानी बढाउने हो भने नेपालको भविष्य उज्ज्वल छ ।’ कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, डा. भोजराज अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

टिम चितवन राइनोज्
चितवन राइनोज् टिमका प्रमुख राहुल महरा हुन् भने मार्की खेलाडी पारस खड्का । अन्य खेलाडीमा शक्ति गौचन, अनिल कुमार शाह, भुवन कार्की, विनोद लामा, हरिशंकर शाह, करण केसी, आरिफ शेख, रामनरेश गिरी, सोनु तामाङ, सुमित महर्जन, लोकन आईकनमा आकाश थापा र सनिल अधिकारी रहेका छन् । इमर्जिङ प्लेयरको रुपमा गौतम केसी र प्रशान्त आचार्यले टिममा सहभागी हुने मौका पाएका छन् । आयोजकले अनिवार्य गरेको दुई जना विदेशी खेलाडीको छिट्टै घोषणा गरिने टिम प्रमुख महराले जानकारी दिनुभयो । चितवन राइनोज्का प्रमुख महराले ३५ वर्षमुनिका युवाहरुको नेतृत्वमा चितवन राइनोज्को जन्म भएको भन्दै नेपालको क्रिकेट विकासका लागि खेलकुदमा लगानी गरिएको बताउनु भयो ।

क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट कम्पनीले आयोजना गरेको पोखरा प्रिमियर लिगमा चितवन राइनोज्सहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । चितवन राइनोज्ले पहिलो खेल बुटवल ब्लास्टर्ससँग कात्तिक १० गते खेल्नेछ  भने कात्तिक १२ गते पोखरा पल्टन, १४ गते धनगढी ब्लुज, १५ गते काठमाडौं रोयल्स र १७ गते विराटनगर टाइटन्ससँग खेल्नेछ ।
पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट अनुमति प्राप्त गरेको यस प्रतियोगिताको विजेता टिमले २५ लाख रुपैयाँ प्राप्त गर्ने क्वीन्स इभेन्ट्स म्यानेजमेन्टका अध्यक्ष छुम्बी लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस