जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना, यसरी खुल्यो रहस्य

पत्रपत्रिकाबाट

मंगलबार, ०६ कार्तिक २०७५, ०७ : ५१
जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना, यसरी खुल्यो रहस्य

काठमाडौं । प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए ।

जुन वेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले । यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन–८ का नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार गरिदिएका थिए ।

यसरी खुल्यो रहस्य
नक्कली नोट छपाइपछि त्यसलाई बजारमा लैजाने जिम्मा मकवानपुर हर्नामाडी–९ का २५ वर्षीय साहिल थापामगर, कागेश्वरी–११ का २९ वर्षीय विकास दोचे र पर्सा बिरुवा गुठी–३ का २८ वर्षीय राज श्रेष्ठले पाएका थिए । त्यसमध्ये थापामगर र दोचे नक्कली नोटको बिटो लिएर चाबहिलस्थित चाँदनी डान्स एन्ड बार पुगे । मध्यरातमा पुगेका उनीहरूले बारमा रक्सी खाए । नृत्य हेरे । धेरैबेर रमाइलो गरेपछि काउन्टरमा बिल मागे ।

नौ हजार रुपैयाँको बिल गरेर वेटरले दुई भाइको टेबलमा राखे । बिल हेरे । झोलाबाट नक्कली नोटको बन्डल झिकेर वेटरलाई दिए । काउन्टरवालाले नोट छाम्दा शंका लागेपछि तुरुन्तै प्रहरी कार्यालयमा फोन ग-यो । तत्काल घटनास्थल पुगेको प्रहरी थापामगर र दोचेलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार त्यसवेला उनीहरूले आफू ज्यामी–मजदुर भएको र उक्त नोट ठेकेदारले दिएको बताएका थिए । दुवैलाई हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र उक्त नोट छाप्ने मुख्य योजनाकार पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र नयाँ बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन–८ का नारायण श्रेष्ठ रहेको रहस्य प्रहरीले थाहा पाएको थियो ।

वीरगन्जबाट ४० हजारमा नोट छाप्ने मेसिन खरिद
प्रहरीका अनुसार नक्कली नोट छापी मालामाल बन्ने इन्द्रबहादुरको योजनापछि नारायण तरिका खोज्न
‘इन्टरनेट’ सर्चमा लागेका थिए । उनैको सिफारिसपछि इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका थिए । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जेलमा बनेको योजना इन्टरनेटबाट साकार गरिएको बताए ।

‘इन्द्रबहादुर सिरहा कारागारमा थिए । नक्कली नोट छाप्ने योजना उनलाई त्यहीँ फु-यो । त्यसपछि उनको भेट नारायणसँग भयो । उनले आफ्नो योजना नारायणलाई सुनाए । मालामाल हुने महत्वाकांक्षापछि नारायण नोट छाप्ने तरिका खोज्ने इन्टरनेट सर्चमा लागे । त्यसलगत्तै दुवैले मिलेर मेसिन खरिद गरेर सोही मेसिनबाट नक्कली नोट छापे,’ बोगटीले भने ।

प्रहरीका अनुसार उनीहरूले नक्कली नोट छाप्ने मेसिन कीर्तिपुर मच्छेगाउँ–४ स्थित कृष्णबहादुर क्षेत्रीको घरमा राखेका थिए । उनीहरू सोही घरमा डेरा गरी बस्दै आएका थिए । दुवैले पहिलो खेपमै उक्त मेसिनबाट हजार दरका पाँच लाख रुपैयाँ नक्कली नोट छापेका थिए । त्यसमध्ये ३ लाख ७० हजार रुपैयाँ मात्रै बरामद भएको छ ।

बाँकी एक लाख ३० हजार रुपैयाँ भने बजारमा गइसकेकाले प्रहरी अहिले सोही नोटको खोजीमा जुटेको छ । ‘यिनीहरूले पहिलो खेपमै पाँच लाख रुपैयाँ नक्कली नोट छापे पनि त्यसमध्ये एक लाख तीस हजार अझै फेला परेको छैन । हाम्रो अनुसन्धानले यो रकम बजार गएको देखाउँछ । यसको खोजीमा प्रहरी जुटिरहेको छ,’ परिसर प्रवक्ता डिएसपी बोगटीले भने । आजको नयाँ पत्रिका दैनिकमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस