काठमाडौं । दुई वर्षअघि विदशी ऋण तिर्न नसकेर टाट पल्टेको श्रीलंकाको आर्थिक उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ । मंगलबार श्रीलंकाले आफ्ना प्रमुख ऋणदातासँग ऋणको पुनर्संरचनामा महत्त्वपूर्ण सहमति गरेको घोषणा गरेको छ । त्यसअघि विस्तारित फन्ड सुविधा (ईएफएफ) को तेस्रो समीक्षामा सरकार र आईएमएफबीच कर्मचारी तहमा सहमति भएको थियो ।
आईएमएफसँग कर्मचारीको तहमा सहमति भएपछि श्रीलंकाले ऋण पुनर्संरचनाअन्तर्गत साढे १२ अर्ब डलरको बोन्ड स्वापको योजना लन्च गरेको रोयटर्सले जनाएको छ । यो योजनाअन्तर्गत बोन्ड होल्डरहरूले विद्यमान बोन्डलाई नयाँ जारी हुने बोन्डहरूसँग स्वाप गर्नुपर्नेछ ।
यो योजनामाथि उनीहरूले १२ डिसेम्बरसम्म भोट हाल्न पाउनेछन्। यो योजना स्वीकृत भयो भने चार वर्षसम्म श्रीलंकाले तिर्नुपर्ने ऋणको सावाँ ब्याज साढे ९ अर्ब अमेरिकी डलरले कम हुने पनि रोयटर्सले उल्लेख गरेको छ ।
श्रीलंका सरकारको यो योजनाको अन्तर्राष्ट्रिय र स्थानीय दुवै बोन्ड होल्डरहरूले स्वागत गरेको पनि रोयटर्सले जनाएको छ ।त्यसअघि श्रीलंकामा अन्तर्राष्ट्रिय मुद्राकोषको नेतृत्वमा जारी अर्थतन्त्र उद्दारको कार्यक्रमको तेस्रो समीक्षामा सरकार र आईएमएफबीच कर्मचारीस्तरमा सहमति भएको थियो ।
श्रीलंका दुई वर्षअघि मे २०२२ मा टाट पल्टिएपछि आईएमएफले त्यहाँ विस्तारित कोष सुविधा (ईएफएफ) का नाममा ३ अर्ब अमेरिकी डलर ऋण प्रदान गरेको छ भने विभिन्न सुधारका कार्यक्रम सञ्चालनमा छन् ।श्रीलंकामा मार्क्सवादी राष्ट्रपति अनुरा कुमारा दिशानायके निर्वाचित भएपछि यो कार्यक्रम अघि बढ्छ कि बढ्दैन भन्ने आशंका थियो । तर, आईएमएफसँगको सघन छलफलपछि गत २० असोजमा दिशानायके यो कार्यक्रम अघि बढाउन तयार भएका थिए ।
त्यसपछि भएको कर्मचारीस्तरको मिसनमा कार्यक्रमको तेस्रो समीक्षामा दुई पक्षबीच सहमतिमा भएको आईएमएफले जनाएको छ ।श्रीलंकाका लागि आईएमएफका वरिष्ठ मिसन प्रमुख पिटर ब्रुएर नेतृत्वको प्रतिनिधिमण्डल र श्रीलंकाका अर्थ उपमन्त्री प्राध्यापक अनिल जयन्त फर्नान्डोबीच भएको वार्ता निष्कर्षमा पुगेको श्रीलंकाको राष्ट्रपति कार्यालयले पनि जनाएको छ ।
यो सहमतिपछि कुल ३ अर्बको कार्यक्रममध्ये थप ३३ करोड ३० लाख डलर श्रीलंकाले प्राप्त गर्ने आईएमएफले विज्ञप्तिमार्फत जनाएको छ ।यससँगै आईएमएफले श्रीलंकालाई गर्ने कुल भुक्तानी १ अर्ब ३३ करोड ३० लाख पुग्नेछ ।आईएमएफको कार्यकारी बोर्डले स्वीकृति दिएपछि मात्र यो सहमति लागू हुनेछ । तर, बोर्डले स्वीकृति गर्नुअघि केही सर्तहरू पनि तोकिएका छन् ।
त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण सर्त यसअघि सरकारले प्रतिबद्धता गरेका सुधारका कार्यक्रमहरू लागू गर्नुपर्ने रहेको छ ।‘आज निजी ऋणदाताहरूसँग अन्तर्राष्ट्रिय सार्वभौम बोन्डहरूको पुनःसंरचना भएको कुरा आधिकारिक रुपमा सुरु भएको छ, यो श्रीलंकाका लागि महत्त्वपूर्ण कोसेढुंगा हो,’ श्रीलंकाली राष्ट्रपति दासानायकेले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रीलंकाको ऋण पुनः संरचनामा सहमति भएको र त्यसमो समीक्षा गरी आईएमएफको कर्मचारी तहबीच भएपछि आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना गर्जिएभाले वित्तीय समुदायका सदस्यहरुलाई वक्तव्य जारी गर्दै श्रीलंकाको आर्थिक सुधारको दिशामा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन् ।
महिनौंको रचनात्मक छलफलपछि श्रीलकाली अधिकारीहरूले बाह्य बन्ड होल्डरहरूको एडहक समूहको स्टियरिङ समिति र श्रीलकाको स्थानीय कन्सोर्टियमसँग गरेको सहमति महत्त्वपूर्ण कदम भएको गर्जिभएभाले जनाएकी छन् ।
ती सहमतिहरू आईएमएफको सुधार कार्यक्रमका मापदण्डसँग मिल्दो रहेको पनि उनले बताएकी छन् । ‘यी सुधार कार्यक्रमअन्तर्गत भएका सहमति कार्यान्वयनले श्रीलंकाले वाह्य ऋण तिर्ने मामलामा निकै महत्त्वपूर्ण राहत पाउनेछ, जसले ऋण स्थायित्व पुनर्स्थापना गर्ने श्रीलकाको प्रयासमा थप योगदान गर्ने छ,’ गर्जिएभाले भनेकी छन् ।
यस गतिलाई कायम राख्दै यो कार्यक्रमलाई सफल बनाउन उच्च ऋणदाताको सहभागितासहितको ऋण सञ्चालन छिटो पूरा गर्नु अत्यन्तै महत्त्वपूर्ण हुने गर्जिएभाले बताएकी छन् । श्रीलंकाली अधिकारीहरुले बाँकी ऋण पुनर्संरचना सम्झौताहरूलाई पनि निरन्तर सम्पन्न गर्दै जानुपर्ने पनि उनले बताएकी छन् ।
‘हालै आईएमएफ र श्रीलंकाबीच कर्मचारीको तहमा सहमति भएको छ । त्यसअघि जुन २०२४ मा श्रीलंकाले आधिकारिक ऋणदाता समिति (ओसीसी)सँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो भने चीनको एक्जिम बैंकसँग पनि सहमति गरेको छ । यी सहमतिहरुपछि ती ऋणदाताहरुबाट ऋण उपचार प्राप्त गर्ने छ । र, त्यसलाई आईएमएफको कार्यक्रमका मापदण्डहरूसँग मिल्दो बनाएर श्रीलंकामा ऋण स्थायित्व प्रदान गर्ने उद्देश्य राखिएको छ,’ गर्जिएभाले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
‘श्रीलंकाली अधिकारीहरूले आर्थिक सुधारका एजेन्डालाई निरन्तरता दिने र अर्थतन्त्रलाई दीर्घकालीन र उच्च आर्थिक वृद्धिको मार्गमा ल्याउने आफ्नो संकल्प पुनः व्यक्त गरेका छन् । यी सुधारका एजेन्डालाई सफल बनाउन अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू र अन्य आधिकारिक ऋणदाताहरूको निरन्तर समर्थन आवश्यक पर्ने छ,’ गर्जिएभाले आफ्नो बक्तव्यमा भनेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज नेपालले श्रीलंकासँग खेल्दै
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि