कानुन सहज भएपछि सम्बन्धविच्छेदमा महिलाभन्दा पुरुष अघि

पत्रपत्रिकाबाट

सोमबार, ०५ कार्तिक २०७५, ०८ : ४३
कानुन सहज भएपछि सम्बन्धविच्छेदमा महिलाभन्दा पुरुष अघि

काठमाडौं । सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिनेमा महिलाभन्दा पुरुष बढी देखिएका छन् । १ भदौयता काठमाडौं जिल्ला अदालतमा ९८ जना पुरुषले पत्नीसँग छुट्टिन निवेदन दिए । त्यस अवधिमा अदालत पुग्ने महिला ८७ मात्रै छन् ।

डेढ महिनामा महिला र पुरुष दुवै गरी एक सय ८५ जनाले पारपाचुकेका लागि अदालतको ढोका ढक्ढकाएका हुन् । दैनिक आठ-नौ जनाको दरमा अदालतमा यस्ता निवेदन पर्ने गरेका छन् । गत वर्ष यही अवधिमा तीन-चार जना महिला मात्रै आउने गरेको अदालतको अभिलेखले देखाएको छ ।

भदौ १ गतेदेखि मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएपछि पुरुष सोझै अदालतमा जान व्यवस्था भएको हो । पहिले पुरुष सम्बन्धविच्छेदका लागि सीधै अदालतमा जाने कानुनी प्रबन्ध थिएन । वडाको सिफारिसमा गाविस, जिविस वा नगरपालिका हुँदै पुरुष बल्ल अदालतमा पुग्न पाउँथे । पत्नी मात्रै सोझै अदालत जान पाउने व्यवस्था थियो ।

वैदेशिक रोजगारीमा दुई वर्ष दोहा बसेर फर्केपछि नुवाकोट त्रिशुली घर भई काठमाडौं मनमैंजु बस्ने एक पुरुष सम्बन्धविच्छेदका लागि दसैंअघि काठमाडौं जिल्ला अदालत पुगे ।

निवेदनमा जनाइएअनुसार २०६० सालमा उनको ‘लभ म्यारिज’ भएको थियो । यी दम्पत्तीबाट एक छोरीको जन्मेकी छन् । छोरीले आठ कक्षा पढ्दै छन् । छ महिनाअघि विदेशबाट घर फर्किएपछि मनमुटाव, पारिवारिक अशान्ति, मानसिक तनाव बढेको बताउँदै एकसाथ जीवन बिताउन नसक्ने कारण उनले दर्शाएका छन् । पत्नीको परपुरुषसँगको हिमचिमलाई उनले सम्बन्धविच्छेदको मुख्य कारक देखाएका छन् ।

उनीजस्तै दैनिक ४/५ जना पुरुष धमाधम अदालत धाउन थालेका छन् तर कारण भने एक मात्र छैनन् । यी दम्पत्तीलाई डाकेर एकपल्ट सम्झाइबुझाइ गर्दै मेलमिलाप गराइदिने तयारीमा अदालत रहेकाे समाचार अाजकाे अन्नपूर्ण पाेस्टमा छ ।

प्रतिक्रिया दिनुहोस