काठमाडौं। स्पेनको भ्यालेन्सिया क्षेत्रमा विनाशकारी बाढीले जनजीवनमा गहिरो असर पारेसँगै त्यहाँको राजतन्त्र र सरकारविरुद्ध जनआक्रोश बढेको छ । बाढीपछि त्यहाँको वस्तुस्थिति बुझ्न गएका शाही दम्पति राजा फिलिप र रानी लेतिजियामाथि पीडितले माटो प्रहार गरेका छन् ।
पीडितहरूले उनीहरूको सवारीमा समेत ढुंगामुढा गरेका हुन्। सरकारले गैर-जिम्मेवारी देखाएको र ढिलासुस्ती गरेको भन्दै पीडितले आक्रोश व्यक्त गरेका छन् ।विरोध प्रदर्शनका क्रममा पीडितले राजा र रानीलाई 'हत्यारा' भन्दै नारासमेत लगाएका थिए ।
बाढीमा ज्यान गुमाउनेको संख्या हालसम्म २१७ पुगेको रोयटर्सले जनाएको छ । मृत्यु हुनेमा अधिकांश भ्यालेन्सिया क्षेत्रकै बासिन्दा छन् भने पैपोर्टा क्षेत्रमा ६० जनाको ज्यान गएको छ ।
बाढीका कारण दर्जनौं मानिस अझै बेपत्ता छन् भने ३ हजार घरपरिवार विद्युतविहीन भएका छन् । घटनास्थलमा उपस्थित स्थानीयले आँशु झार्दै बाढीको चेतावनी समयमा दिइएको भए आफूहरूले आफ्ना प्रियजनलाई बचाउन सक्ने तर, सरकारले त्यसो नगरेको भन्दै गुनासो गरिरहेका छन् ।
प्रधानमन्त्री पेड्रो सान्चेजले विपतमा गरिएको लापरवाहीको अनुसन्धान गरिने बताएका छन् । उनले बाढीपीडितहरूलाई राहत पुर्याउन सरकार तत्पर रहेको पनि बताएका छन् ।उनले भाषण गर्दा गर्दै उनीमाथि पनि हिलो प्रहार भएको थियो । उनको सवारीमासमेत आक्रमण भएको थियो ।
स्पेनको संसदात्मक राजतन्त्रमा राजा राष्ट्रप्रमुखका रूपमा कार्य गर्ने संवैधानिक व्यवस्था छ । राजा फिलिपले संकटमा रहेका बासिन्दाहरूसँग शान्तपूर्वक कुरा गर्ने प्रयास गरेका थिए । रानी लेतिजियाले पनि स्थानीयहरूसँग सहानुभूति प्रकट गर्दै हात मिलाएर धैर्यताको सन्देश दिएकी थिइन् ।
बाढीको चेतावनी दिने क्रममा सरकारी अधिकारीबीच समन्वयको अभाव रहेको तथ्य पनि बाहिर आएको छ । भ्यालेन्सिया क्षेत्रका प्रमुख कार्लोसको भनाइ उदृत गर्दै रोयटर्स लेख्छ, 'घटना घटेपछि हामीले आफ्नो जिम्मेवारी निभाएका छौं । तर बाढीको चेतावनी दिने प्रक्रियामा केन्द्रीय र क्षेत्रीय निकायहरूबीच समन्वय अभाव रहेको देखिन्थ्यो ।'
विज्ञहरूका अनुसार भूमध्य सागरको तापक्रम बढ्दै जाँदा त्यहाँबाट बनेको बाफले भारी वर्षा निम्त्याएको हो । मौसमविज्ञहरूले यस्तो चरम वातावरणीय अस्थिरतालाई जलवायु परिवर्तनसँग सम्बन्धित मानेका छन् ।
यस घटनापछि स्पेनको इतिहासकै सबैभन्दा ठूलो राहत अभियान चलाइएको छ । अभियानअन्तर्गत हजारौं सैनिक र प्रहरीहरू राहत कार्यमा जुटिरहेका छन् । भ्यालेन्सियामा अझै भारी वर्षाको चेतावनी दिइएको छ र क्षति रोक्न स्थानीय प्रशासनलाई सचेत गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली मेड्रिटमा
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक