बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

पत्रपत्रिकाबाट

सोमबार, २९ असोज २०७५, ०९ : ३२
बास्तोलाको अन्तिम संस्कार, कांग्रेसले ३ दिन झन्डा आधा झुकाउने, १३औँ दिन शोकसभा

कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्र बास्तोलाको निधनमा शोक व्यक्त गर्दै ३ दिनसम्म शोक मनाउने निर्णय गरेको छ  । मस्तिष्काघात भई ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बास्तोलको शनिबार ललितपुरको खुमलटारस्थित निवासमा निधन भएको थियो ।
उनको निधनपछि आइतबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले ३ दिनसम्म शोक मनाउने निर्णय गरेको हो  । २८ देखि ३० असोजसम्म पार्टी केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झन्डा आधा झुकाउने तथा शोक/श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गर्ने निर्णय कांग्रेसले गरेको छ । १३औँ दिनमा केन्द्र र सबै जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ  ।

अस्तुकलश झापाको कन्काईमा
श्रद्धाञ्जलीका लागि बास्तोलाको शव आइतबार दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो  । त्यहाँ पार्टी सभापति शेरबहादुर देउवाले बास्तोलाको शवमा पार्टीको झन्डा ओढाए  । नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालासहितका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापतिहरू, सरकारका मन्त्री तथा अन्य दलका प्रतिनिधि र सयौँ शुभचिन्तक सानेपा पुगेका थिए  ।

सानेपामा श्रद्धाञ्जलीपछि पशुपतिस्थित आर्यघाटमा बास्तोलाको दाहसंस्कार गरिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि सभापति देउवा पशुपति आर्यघाट पुगेका थिए । झापा कांग्रेसको आयोजनामा सोमबार झापास्थित कन्काईमाई नदीमा बास्तोलाको अस्तुकलश प्रवाह गरिने भएको छ । बास्तोलाका दुई छोरी र श्रीमती छन् । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस