काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन् ।
विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताएका हुन् ।
“देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरुरी छ”, अध्यक्ष दाहालले भनेका छन्, “यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।”
पूर्वप्रधानमन्त्री दाहालले दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठुलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्त्वपूर्ण अवसरका रूपमा खुसीयालीपूर्वक मनाउन सबैमा अपिल गरेका छन् ।
विजयको प्रतीकका रूपमा मनाइने विजयादशमीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, मेलमिलाप एवं सहकार्यका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आएको जनाउँदै अध्यक्ष दाहालले विश्व परिवेशमा सामाजिक पुनःमिलनको सबैभन्दा ठुलो उत्सव एवं अवसरका रूपमा समेत दसैँ स्थापित हुँदै आएको बताए ।
दसैँको पूर्वसन्ध्यामा आएको बाढीपहिरो र त्यसले निम्त्याएको भयानक विपत्तिबाट सिङ्गो देश आक्रान्त बनेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रभावित नागरिकलाई यथाशीघ्र राहत र पुनर्स्थापना प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पीडा र चुनौतीको बिचमा पनि धैर्यतापूर्वक विपत्तिको सामना गर्नुबाहेक अर्को विकल्प छैन भन्दै उनले भनेका छन्, “प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनमा राहतको व्यवस्था, घरबारविहीन नागरिकलाई पुनर्स्थापना एवं पुनर्वास, क्षति भएको सम्पत्तिको उचित क्षतिपूर्ति, जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण, भत्किएका सडक, पुल लगायतका संरचनाहरूको पुनःनिर्माणमा तीव्रता दिएर आम जनतालाई देशमा सरकार भएको अनुभूति गराउनसमेत म नेपाल सरकारलाई पुनःस्मरण गराउन चाहन्छु ।”
अध्यक्ष दाहालले विजयदशमी २०८१ ले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनःमिलन एवं सङ्कटपूर्ण परिस्थितिको सामनासहित शोकलाई शक्तिमा बदल्न थप प्रेरणा र ऊर्जा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असोज २०८१, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो: प्रचण्ड
आलोचना दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गर्यो: प्रचण्ड
माधव र विप्लवको पार्टीसँग एकता हुन्छ : प्रचण्ड
जलवायु संकटका विषयमा भूमिका खेलेको भन्दै प्रचण्डलाई धन्यवाद
‘जनयुद्धमा महिलाको सहभागिताबाट मात्रै ३३ प्रतिशत अधिकार स्थापित भयो’ : प्रचण्ड
अनेमसंघ क्रान्तिकारीको ७ औँ सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने