धर्मको नाममा महाराजको ठगी धन्दा, एकै जनाबाट ६० लाख ठगी

पत्रपत्रिकाबाट

आइतबार, २८ असोज २०७५, ०८ : ३४
धर्मको नाममा महाराजको ठगी धन्दा, एकै जनाबाट ६० लाख ठगी

काठमाडौंं । धर्मको नाममा बालतपस्वी पण्डित उत्तम भट्टजी महाराजले ठगी धन्दा सञ्चालन गरेको रहस्य खुलेको छ । विभिन्न स्थानमा बालतपस्वीको नाममा भागवत् वाचन गर्दै हिँड्ने उनले  पण्डितले एक महिलालाई ६० लाख रुपियाँ ठगी गरेको रहस्य खुलेको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ ढोला स्थायी घर भएका उत्तम भट्टजी महाराज नाम गरेका उत्तम भट्टले नुवाकोट लिखु गाउँपालिका–५ घर भएकी होमकुमारी ओझालाई ६० लाख रुपियाँभन्दा बढी ठगी गरेकोे खुलेको छ ।
धर्मप्रति लगावका कारण १०८ ठाउँमा महायज्ञ लगाउने चाहना बोकेर हिँडेकी ओझाको  त्यही क्रममा उत्तम भट्टसँग चिनजान हुन पुग्यो । ओझा सार्वजनिक र निजी स्थानमा भागवत् लगाउँदै आएको ‘विश्व भागवत् धाम नेपाल’ नामक संस्थामा आबद्ध हुन पुगिन् ।

धादिङको परेवाटारमा धाम बनाउने उद्देश्यका साथ शुरू भएको महायज्ञमा लगानी गर्दै ओझाले घरखेतसमेत बन्दकी राखेर लगानी गरिन् । तर, धाम बनाउन कुनै ध्यान नै नदिएपछि निर्माण गर्नका लागि दबाब दिँदा आफूलाई निकालिएको बताइन् ।

उनले भनिन्– ‘धाम बनाउने नाममा कमाइखाने भाँडो बनाइयो, पवित्र उद्देश्य राखी घरखेत नै बन्दकी राखेर पैसा लगानी गरें, तर धर्मको नाममा ठगीको व्यापार भएको थाहा पाएपछि मैले पैसा फिर्ता मागेकी हुँ ।’
पैसा माग्दा उल्टै ज्यान मार्ने धम्की आएको आरोप लगाउँदै ओझाले न्यायका लागि प्रहरीमा उजुरी दिएको बताइन् ।  यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस