भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय स्तरको सिटी हलका नाममा महानगरका जनतालाई उचाल्ने काम भइरहेको बताउनुभएको छ । उद्योग वाणिज्य संघ–चितवनले आज आयोजना गरेको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएको दाहालले सिटी हलको विषयमा जनता उचाल्ने काम भइरहेको हुनाले त्यस्तो कार्य बन्द गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
‘सिटी हलको विषयमा कहिले जगतपुरका जनतालाई उचालिएको छ, कहिले पटिहानीका जनतालाई उचालिएको छ, कहिले कहाँको जनतालाई उचालिएको छ, यो के हो ? किन उचालिएको छ ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘सिटी हल जहाँ बनाउन खोज्दा पनि विरोध भइरहेको छ, महानगरवासी भन्नूस अब म के गर्न सक्छु ? जे भन्नुहुन्छ त्यही गर्छु ?’
क्यान्सर अस्पतालभन्दा पर जान सकिँदैन
कार्यक्रममा महानगर प्रमुख दाहालले सिटी हल क्यान्सर अस्पतालभन्दा परको दुरीमा बनाउन नसकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘मेरो इच्छा त म जन्मेको ठाउँ शिवनगरमा बनाउन मन थियो, महानगरको मध्ये भागमा पनि पर्ने थियो, तर त्यहाँ हुन सक्दैन । क्यान्सर अस्पतालभन्दा पर गएर सिटी हल बनाउन सकिदैन ।’ दाहालका अनुसार सिटी हल सिटीकै पेरिफेरिमा हुनुपर्छ ।
भरतपुर महानगरले सुरुमा क्यान्सर अस्पतालको ५ बिघा जग्गामा सिटी हल बनाउने प्रस्ताव गरेको थियो । ‘भरतपुरमा बन्न लागेको सिटी हल क्यान्सर अस्पतालको जग्गामा निर्माण गर्ने भनी गृहमन्त्रालय, अर्थमन्त्रालय हुँदै फाइल क्याबिनेटसम्म पुगेको थियो’ महानगर प्रमुख दाहालले स्मरण गर्दै भन्नुभयो, ‘प्रतिपक्ष दल नेपाली कांग्रेसबाट विरोध भएपछि विकल्प खोजौ न त भनेर गेष्ट हाउस चौरमा बनाउने निर्णय गरेका थियौँ । त्यहाँ पनि साना दलहरुले बिरोध गर्नुभयो ।’ सिटी हलको विषय अहिले अन्योल बनिरहेको उहाँको भनाइ थियो ।
५० करोड बजेट फ्रिज हुन्छ
महानगर प्रमुख दाहालले भरतपुर महानगरमा सिटी हल बनाउनै नसके बजेट फ्रिज भएर जाने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘सिटी हलको लागि आएको ५० करोडको बजेट फ्रिज हुनबाट मैले रोकिरहेको छु, सधैँभर त यो बजेट त रोकिदैन ।’ सिटी हल बनाउनै नदिने हो भने बजेट फ्रिज भएर जाने उहाँको भनाइ थियो ।
‘सिटी हल जहाँ बनाउन खोज्दा पनि विरोध हुने, बनाउनै नदिने नियत हो भने त बजेट फ्रिज भएर अर्को जिल्ला जान्छ, त्यतिबेला कसको दोष हुन्छ ? दाहालको आक्रोश थियो, ‘सिटी हलको चर्चा भएको छ महिना भयो, ६ महिनासम्म कुहिराका काग भइएको छ । यहाँको खिचातानीले भरतपुर महानगरमा आएको योजना उम्केर अन्त नजाओस् ।’
रिंगरोड ३० मिटरभन्दा कम हुँदैन
प्रमुख दाहालले भरतपुर महानगरले बनाउँदै गरेको रिंगरोड ३० मिटरको भन्दा कम नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘लिंकरोड त २४ मिटरको बन्न लागेको छ भने रिंगरोड ३० मिटरको भन्दा कम हुँदैन ।’ उहाँले भविष्यलाई हेरेर लिंकरोड र रिंगरोड बन्न लागेको बताउनुभयो । महानगरको रिंगरोड ९५ किलोमिटर लामो छ ।
‘रिंगरोड र लिंकरोडको काम भइरहेको छ, थोरै गर्ने हो तर राम्रो गर्ने हो । ढिलो होस् तर राम्रो होस्’ दाहालले भन्नुभयो, ‘रिंगरोड बजारको मुख्य भागलाई छोडेर छेउछेउबाट लान पनि सकिन्छ ।’ भरतपुर महानगरको रिंगरोडमा १२ वटा लिंकरोड जोडिन्छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नेभयो
महानगर प्रमुख दाहालले रामपुरमा रहेको कृषि विश्वविद्यालयको २० बिघा जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने बताउनुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भएको जग्गामा त्रिपक्षीय सम्झौता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषि विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र भरतपुर महानगरबीच त्रिपक्षीय सम्झौता भएको छ ।’ उहाँले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको फाइल मन्त्रिपरिषदसम्म पुगेको र त्यहाँबाट पास भएपछि निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
लायन्सचोकमा सपिङ कम्प्लेक्स बन्ने
महानगर प्रमुख दाहालले नारायणगढको लायन्सचोकको पुरानो तरकारी बजारमा सपिङ कम्प्लेक्स बन्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘त्यहाँको तरकारी बजार क्षेत्रपुरमा सरिसकेको छ, अब लायन्सचोकको त्यो जग्गामा बहुउद्देश्यीय भवन सपिङ कम्प्लेक्स निर्माणको प्रक्रिया छिटै अघि बढ्छ । उहाँले डिपिआरको काम सम्पन्न भइसकेको बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनको अध्यक्ष सहनलाल प्रधानले महानगरको सिटी हल निर्माणको लागि क्यान्सर अस्पताल नै उपयुक्त भएको बताउनुभयो । उहाँले क्यान्सरमा सिटी हल बनाउन विरोध गर्दै आएको नेपाली कांग्रेसलाई समेत सिटी हल निर्माणमा सहयोगी भूमिका निभाउन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाका नेता तेजेन्द्र खड्काले क्यान्सरमा सिटी हल निर्माण गर्दा वीपीको नाम मेटिनेजस्तो कुरा भएको पाइयो, त्यस्तो शंका उपशंका नगर्न नेपाली कांग्रेसलाई अनरोध गर्नुभएको थियो ।
नेपाली कांग्रेसका जिल्ला सचिव राजिव न्यौपानेले क्यान्सर अस्पतालबाहेक महानगरका अन्य जुनसुकै ठाउँमा सिटी हल बनाउन नेपाली कांग्रेस तयार रहेको बताउनुभयो । उहाँले अस्पताललाई विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी, उवासंघ चितवनका निवर्तमान अध्यक्ष राजन गौतम, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, औषधि व्यवसायी संघ चितवनका बद्रीप्रसाद खनाल, उवासंघ चितवनका पूर्वअध्यक्षहरु मित्रलाल दवाडी, कल्याण जोशीलगायतले दसैँ शुभकामना मन्तव्य दिनुभएको थियो । उवासंघ चितवनका उपाध्यक्ष चुननारायण श्रेष्ठले समापना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा भरतपुर महानगर र उवासंघ चितवनबीच व्यवसायिक करको विषयमा सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस