संसारकै सबैभन्दा लामो हवाई उडान आजदेखि

विहीबार, २५ असोज २०७५, १५ : २०
संसारकै सबैभन्दा लामो हवाई उडान आजदेखि

संसारकै सबैभन्दा लामो हवाई उडान बिहिबारदेखि सुरू भएको छ। सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्युयोर्कसम्मको १९ घन्टा लामो उडान सुरू गरेको हो।

सिंगापुरबाट उडेको विमान १५ हजार किलोमिटर दूरी पार गरेर न्युयोर्क पुग्नेछ। यसअघि कन्तास एयरलाइन्सले अष्ट्रेलियाको पर्थबाट लण्डनसम्म सिधा हवाई सेवा सुरू गरेको थियो।

पर्थबाट लण्डन पुग्न १७ घन्टा लाग्छ। कतार एयरलाइन्सको आकल्याण्ड-दोहा उडानमा साढे १७ घन्टा लाग्छ। सिंगापुर एयरलाइन्सले पहिला पनि न्युयोर्क उडान गर्थ्यो तर केही यात्रुले समय बचाउन ननस्टप सेवा माग गरेकाले यो सेवा सुरू गरेको बताएको छ।

यो फ्लाइटमा विजनेश र प्रिमियर इकोनोमिक क्लासका सिटमात्र छन्। विजनेस क्लासमा यात्रा गर्नेलाई उडानका क्रमका दुई पटक खाना दिइनेछ। प्रिमियम इकोनोमिक क्लासका यात्रुलाई तीन पटक खाना दिइनेछ। जहाजमा १६१ सिट छन् त्यसमा ६७ विजनेश क्लासका छन्। जहाज एनओपिएसी रूट वा प्रशान्त महासागर हुँदै अमेरिका जाने सिंगापुर एयरलाइन्सले जनाएको छ।

छांगी विमानस्थलबाट न्युयोर्क ए३५०-९०० युएलआर जहाज उड्ने छ। दुई इन्जिन भएको यो जहाजले बोइङ ७७७ भन्दा २०-३० प्रतिशत कम इन्धन खपत गर्छ।

सिंगापुर एयरलाइन्सले २००४ मा छांगीबाट न्युयोर्क ननस्टप सर्भिस सुरू गरेको थियो। सन् २०१३ मा यो सेवा बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस