आज विश्व दृष्टि दिवस

सरकारको आँखासम्बन्धी कार्यक्रमलाई सफल पारौँ : महानगर प्रमुख दाहाल

विहीबार, २५ असोज २०७५, १२ : ०९
सरकारको आँखासम्बन्धी कार्यक्रमलाई सफल पारौँ : महानगर प्रमुख दाहाल

भरतपुर । भरतपुर आँखा अस्पतालमा ‘सबैका लागि आँखा स्वास्थ्य आजै आफ्नो आँखा जाँच गराऔँ’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइएको छ । नेपाल नेत्र ज्योति संघले चितवनले विश्व दृष्टि दिवसको अवसरमा गरेको कार्यक्रमको प्रमुख अतिथि रहनुभएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आँखासम्बन्धी सरकारले घोषणा गर्न लागेको कार्यक्रमलाई सफल पार्न आग्रह गर्नुभयो ।  
कार्यक्रममा महानगर प्रमुख दाहालले डब्लुएचओ र आइएपिबीले सन् १९९९ को फेब्ब्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न भिजन ‘ट्वान्टी–ट्वान्टीः राइट टु साइट’ कार्यक्रम घोषणा गरेको हुनाले यसलाई सफल पार्नुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘कार्यक्रम सफल पार्नको लागि भरतपुर महानगर कुन ठाउँमा के सहयोग गर्नुपर्ने हो, त्यो गर्न तयार छ ।’ कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर आँखा अस्पतालले दिइरहेको सेवाको उच्च मूल्यांकन गर्नुभएको थियो । 
भरतपुर आँखा अस्पतालमा मित्रराष्ट्रहरुबाट समेत उपचार गर्न आउने गरेको खबर थापा पाउँदा गर्भको अनुभूति भएको उहाँको भनाइ थियो । महानगर प्रमुख दाहालले भन्नुभयो, ‘भरतपुर आँखा अस्पतालले उपचारको साथै आँखा स्वास्थ्यसम्बन्धी अध्ययन अध्यापन गरेर दक्ष जनशक्ति उत्पादन गर्न अस्पतालले ठूलो योगदान दिइरहेको छ ।’
कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान दिइरहेको बताउँदै भन्नुभयो, ‘आँखाजस्तो अति संवेदनशील स्वास्थ्य क्षेत्रमा महानगरले थप योजनाहरु ल्याउनेछ ।’ कार्यक्रममा उहाँले सरकारको आँखा स्वास्थ्यको क्षेत्रमा नगन्य लगानी रहेको अवस्थामा पनि नेत्रज्योति संघजस्ता समाजसेवीहरुको संस्थाले नेपालको आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट सम्पादन गर्दै आइरहेकोमा नेपाल नेत्र ज्योति संघ चितवनलाई धन्यवाद दिनुभएको थियो । संघले कार्यक्रम हुनुअघि प्रभातफेरि कार्यक्रम गरेको थियो । 

विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी आईएपिबीको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
नेपालमा ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यमा सुधारका लागि कार्यक्रम केन्द्रित गरिएको छ । सरकारले सन् १९९९ नोभेम्बरमा भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागू गरेको छ । पछिल्लो तथ्यांक अनुसार नेपामा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना छ ।
चार लाखभन्दा बढी नेपालीको एउटा आँखा दृष्टिविहीन रहेको, दुई लाख वयस्क र ९० हजार बालबालिका न्यून दृष्टिको समस्याबाट पीडित भएका छन् । आँखा रोग बिज्ञहरुका अनुसार हरेक दिन नेपालमा एकसय २५ जना वयस्क दृष्टिविहीन हुने र सातजना बालबालिकाले आँखाको ज्योति गुमाउने गरेका छन् ।​
नेपालमा आँखासँग सम्वन्धी केही तथ्य 
नेपालमा एक लाख २० हजार मानिस दृष्टिीबिहीन छन् । दश लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टि दोषको समस्या छ । अन्धोपनाको ६६ प्रतिशत अन्धोपन उपचार गर्न सकिने खालका छन् । अन्धोपनका १६ प्रतिशत अन्धोपन रोकथाम गर्न सकिने खालका छन् । नेपालमा दृष्टि क्षमता कमजोर भएका मानिसमध्ये ६० प्रतिशत महिला छन् । 
न्यून दृष्टिको मुख्य कारणमा दृष्टि दोष, मोतिविन्दु र जलविन्दु रहेका छन् । सन् २०१४ मा नेपालमा गरिएको पहिलो र ठूलो सर्भेक्षणमा ०दशमलव०६ प्रतिशत बालबालिकामा अन्धोपन देखिएकामा ८० प्रतिशत बालबालिकाको उपचार गरेर अन्धोपन हटाउन सकिने भेटिएको थियो । 
अन्धोपनाका मुख्य कारण मोतिविन्दु र यससँग सम्बन्धित ६५ प्रतिशत, आँखाको पर्दाजन्य रोग १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना छ प्रतिशत, जलविन्दु पाँच प्रतिशत, दृष्टि दोष चार प्रतिशत र अन्य सात प्रतिशत रहेको छ । 

विश्वमा आँखा स्वास्थ्य सम्वन्धी केही तथ्य 
विश्वमा तीन करोड ६० लाख मानिस दृष्टिीबिहीन छन् । २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यून दृष्टिबाट प्रभावित छन् । एक अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् । एक करोड ९० लाख बालबालिकामा दृष्टि दोष देखिएको छ । कूल दृष्टिदोषमध्ये झण्डै ६५ प्रतिशत मानिस ५० वर्ष र माथिका उमेरका छन् । अन्धोपना र दृष्टिदोषको भार सन् १९९० को ४ दशमलव ५८ प्रतिशतबाट कम भएर २०१५ मा ३दशमलव ३७ प्रतिशतमा झरेको तथ्याङ्क छ । 
आँखा स्वास्थ्य सन्देश 
आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टि दोषका लक्षण हुन् । यो समस्या जो कोही र जुनै उमेरमा पनि हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जचाइहाल्नुपर्दछ । हरेक पाँच अन्धोपन भएका मानिसमध्ये चारको उपचार र रोकथाम सम्भव छ । तसर्थ नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरी अन्धोपना हुनबाट बचौँ र बचाऔँ ।

प्रतिक्रिया दिनुहोस