भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले जुस खुवाएर बेहोस् बनाइ लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
मकवानपुर थाहा नगरपालिका २ घर भइ हाल तनहुँ देवघाटमा बस्दै आएका ४९ वर्षका हरि गोले र कास्की माछापुछे गाउँपालिका ६ बस्ने ५६ वर्षका गोपाल भन्ने कालु परियारलाई जुस खुवाएर बेहोस् बनाइ लुटपाट गरेको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले गोलेलाई नारायणगढको आँपटारी र कालु परियारलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको जनाएको छ । प्रहरीले कालुबाट बेहोस् बनाउने औषधि, टर्च, जुससमेत बरामद गरेको थियो ।
पक्राउ परेकालाई ज्यान मार्ने उद्योग र चोरी कसुर अन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रहरीका अनुसार गत शुक्रबार राति माडी नगरपालिका ६ कल्याणपुरमा दिनभरि अमिलो बेचेर भीमबहादुर सुनारको घरका सदस्यहरुलाई आँपको जुस भन्दै विषादी हालेको जुस खुवाएर १५ तोला सुनका गरगहना, दुई थान मोबाइल सेट लुटेर फरार भएका थिए ।
प्रतिक्रिया दिनुहोस