चितवन ।
– भरतपुर १० की गृहिणी करुणा श्रेष्ठलाई खाद्यान्नको बजार मूल्य बढ्दा कसरी दसैँ मनाउने हो भन्ने पिरलो छ । चिनी, तेल र मैदाको मूल्य बढ्दा उहाँको दसैँ खर्च सोचेको पैसाले पुग्दैन । दसैँको अवधिमा उनको ५ जनाको परिवारको लागि खाद्यान्नको मात्र (मासु बाहेक) खर्च २० हजारले नपुग्ने उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ, ‘दसैँ, भनेपछि फुरुङ हुन्छन् सबैजना, कसरी पो मनाउने हो ?
– भरतपुर २५ की देवकी खनाल शाकाहारी हुनुहुन्छ । शाकाहारी भएपछि उहाँको परिवारमा मासुमा खर्च हुने कुरै आएन । रोटी र मिठाइहरु बनाउँदा तेलमा बढी खर्च हुन्छ । यसपटकको दसैँमा तेलको मूल्यको भाउ वृद्धि भएको कारणले उहाँको परिवारको दसैँ खर्च पनि सोचेको पैसाले नपुग्ने देखिन्छ । उहाँ भन्नुहुन्छ, ‘मासु नखाने भए पनि शाकाहारीलाई रोटी र मिठाइहरु बनाउँदा तेल र चिनी बढी चाहिन्छ, यसैको भाउ बढेको छ, कसरी पो उम्काउने हो ?
यी दुई पात्र अत्यन्तै निम्न आयस्रोत भएका परिवार हुन् । माथिका दुई प्रतिनिधि पात्र हुन्, वास्तवमा निम्न आयस्रोत त मात्र ह वास्तवमा निम्न आयस्रोत भएका मानिसहरुलाई दसैँ कसरी उम्काउने भन्ने पिरलो छ । दसैँ हो, छोराछोरीलाई राम्रा कपडा हाल्नै प¥यो । मीठोमसिनो खान खोज्छन्, ल्याउनै प¥यो । पाहुना आउँछन्, टीकाटालो गर्नैप¥यो । वास्तवमा गरिब परिवारलाई दसैँ उम्काउनै धेरै गाह्रो छ । त्यसैले गीतमा भनिएको होला, ‘दसैँ नै हो कि यो मेरो दसा, फर्की आएको !’
दसैँको मुखमा चिनी, तेल र आँटामा केही मूल्य बढेको हुनाले मानिसहरुलाई अर्को पिरलो थपिएको छ । कपडाको मूल्य पनि घटेको छैन । हुने खानेलाई दसैँ वृहत् चाड बन्ला, जति खर्च गरे पनि पुग्ला । तर हुँदा खानेलाई दसैँ कसरी टार्ने हो भन्ने पिरलो छ यहाँ ।
कतिलाई त ऋण बोकाउन आएजस्तो हुन्छ दसैँ । कतिलाई दसा लिएर आएको जस्तो हुन्छ दसैँ । तर वास्तवमा दसैँ मुखमा आइसक्यो । घाँटी हेरी हाड निल्नु भने जसरी आफ्नो क्षमता अनुसार दसैँ मनाऔँ, आम्दानीअनुसार खर्च गरौँ ।

कस्तो छ खाद्यान्नको भाउ
किराना व्यवसायी संघ चितवनले दसैँको मुखमा चिनी, तेल र पिठोको मूल्य बढेको जनाएको छ । व्यवसायी संघका अनुसार दसैँको मुखमा केही खाद्य वस्तुको मूल्य बढेको र केहीको घटेको छ ।
‘चिनी, तेल, पिठोमा भाउ थोरै बढेको हो, अन्य खाद्य वस्तुको भाउ बढेको छैन’ किराना व्यवसायी संघका महासचिव रविन्द्रकुमार श्रेष्ठले भन्नुभयो, ‘गत वर्षको दसैँको तुलनामा यस वर्ष केही सस्तो छ दसैँ, धेरैमा गत वर्षभन्दा घटेको छ भाउ’
चिनीको खुद्रा मूल्य प्रतिकेजी ६८ बाट ७० रूपैयाँ पुगेको छ । खाने तोरीको तेलमा खुद्रा प्रतिलिटर १६० बाट १७० रूपैयाँ पुगेको छ । पिठो प्रतिकेजी ५० बाट ५५ रूपैयाँ पुगेको छ । अरु खाद्यान्नमा नबढेको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार सरकारले आयतित चिनी रोकिँदा नेपालमा चिनिको भाउ बढेको हो । अहिले सरकारले आयातित चिनीमा रोक लगाएको छ । नेपाली चिनीमात्र विक्री वितरण गर्न सरकारले कडा कदम चालेको छ । स्वदेशमा गहुँ उत्पादन कम भएको र मैदा र पिठो सबै आयात नै गर्नुपर्ने भएको हुनाले यसका भाउ घटबढ भइरहने किराना व्यवसायी संघको भनाइ छ ।
यस्तो छ चितवनका बजारको खुद्रा मूल्य सूची
खाद्यान्नको नाम प्रतिकेजी मूल्य रु.
१) सोना मन्सुली चामल ५०
२) जिरा मसिनो चामल (सोनम) ७५
३) जिरा मसिनो चामल (सावा) ७०
४) जिरा मसिनो चामल (गोरखनाथ) ६०
५) सावित्री चामल (लोकल) ५५
६) सोना चामल (स्टिम) ५५
७) सेतो केराउ ६०
८) हरियो केराउ ७०
९) मुसुरो दाल (मोटो) ९०
१०) मुुसुरो दाल (मसिनो) १००
११) रहर दाल (पोलिस) १३०
१२) मास दाल ९०
१३) मुगु दाल १४०
१४) मुगु दाल खोस्टा १४०
१५) बोडी ९०
१६) राजमा १२०
१७) भटमास ९०
१८) चिनी ७२
१९) तोरीको तेल १७० लि.
२०) सनफ्लावर तेल १५० लि.
२१) भटमास तेल १४० लि.
२२) मैदा ५५
२३) आँटा ४५
२४) सुजी ६०
२५) जीरा खुला ४४०
२६) जीरा प्याकेट ४६०
२७) धनिया खुला १८०
२८) धनिया प्याकेट २००
२९) चिउरा सादा ६०
३०) चिउरा टाइचिन ७५
३१) आयोनुन २२
प्रतिक्रिया दिनुहोस