निर्मला हत्या प्रकरण

निर्मलाको भित्री कपडा प्रहरीले कहाँ लुकायो ?

सोमबार, २२ असोज २०७५, १२ : ००
निर्मलाको भित्री कपडा प्रहरीले कहाँ लुकायो ?

कञ्चनपुर । घुमीफिरी रुम्जाटार भनेजस्तै कञ्चनपुरकी निर्मला हत्या प्रकरणमा छानविन समितिले प्रहरीतर्फ सुई घुमाएको छ । छानविन समितिले प्रहरी प्रमुख तत्कालीन एसपी डिल्लीराज विष्टको लापरबाही भएको हुनाले विभागीय कारबाही गर्न सरकारलाई सिफारिस समेत गरेको छ । 
भीमदत्तनगरपालिका २ महुलीयाकी १३ वर्षीया निर्मला हत्या प्रकरणमा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । निर्मलाको सुरुवाल पखाल्ने महिला चाँदनी साउद र घटनाको अनुसन्धान गर्ने प्रहरी नायब निरीक्षक हरसिंह धामीलाई निलम्बन गरिएको हो । चाँदनी र धामीसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा थप दुई प्रहरीलाई गरिएको बताए । 
यसअघि निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् ।
चाँदनीले साउन ११ गते निर्मलाको शव भेटिएपछि उनले निर्मलाले लगाएको सुरवाल खोलेर पखालेकी थिइन् । उनले आफूलाई सुरवाल पखाल्न कसैले नभनेको बताउँदै आएकी छन् । प्रहरीले निर्मलाको भित्री वस्त्र कहाँ पुयायो अहिलेसम्म कसैले भेउ पाएको छैनन् ।

निर्मलाको लाशसँगै भेटिएको पेन्टी, सुरुवाल कहाँ छ, अथवा त्यसलाई नष्ट गरियो केही खुलेको छैन । शव उठाउने क्रममा निर्मलाको ती वस्त्र प्रहरीले नै लगेको स्थानीय बताउँछन् । तर छानविन समितिले निर्मलाको भित्री वस्त्रको कुरा गर्दा प्रहरीले भन्यो, ‘हामीसँग छैन ।’ भर्खरै मात्र निलम्बनमा परेका धामीले  मृतकको कपडाबारे कुनै जानकारी नभएको बताए । मृतकको शव दाजु नाता पर्ने लक्ष्मी पन्तले बुझेका उनी बताउँछन् । 

यसो भन्छिन् निलम्बनमा परेकी चाँदनी 
निर्मला पन्तको घटना स्थलप्रकृति मुचुल्का तथा लाशजाँच प्रकृति मुचुल्का बनाउन मृतकको शव भएको स्थानमा गएको हुँ । मृतकको जीउमा भएको एउटा खुट्टामा अड्किएको पेन्टी र रातो रंगको सुरवला मैले झिकी फोहोर देखेर एक पटक पानीमा चोपलेर मृतकको तल्लो भाग ‘गुप्तांग’ छोपेको हुँ । मृतकको जिउमा लगाएको रातो रंगको पेन्टी, टीसर्ट तथा सुरुवाल लाशसँगै थियो । उक्त कपडा जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छैन । आखिर कपडा कता गायब बनाइयो । लाश त अरु केही नभएर प्रहरीले उठाएको हो । आखिरी कसले किन निर्मलाको भित्री बस्त्रहरु नष्ट ग¥यो । यसको छानविन हुन जरुरी छ । 
‘हामीसँग उक्त निर्मलाको जिउमा लगाएको कपडा अहिले पनि छैन । मिति २०७५ साउन १० गते राति वर्षा भएको थियो । मृतकको सुरवालमा खल्ती थिएन । मलाई मृतकको सुरवाल पानीमा चोपल्न र मृतकको तिघ्रामा पानी फाल्न कसैले भनेको होइन’ उनी भन्छिन् । पछिल्लो समय निर्मलाको भित्री बस्त्रबार अहिले धेरै शंका र आशंका जन्माएको छ । यो शंका र आशंकको सुई अब प्रहरीतर्फ सोझिएको छ ।

प्रतिक्रिया दिनुहोस