काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले ठूलो परिमाणमा अनुदान लग्नेहरूको कुनै काम नदेखिएको बताए ।
'कृषि मन्त्रालयले पछिल्लो २-५ वर्षको बीचमा अरबौँ रुपैयाँ अनुदान दिएको रहेछ । २०-२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन’, उनले भने, ‘यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिँदैन भने कसले दिँदैन ? म कहाँ ल्याउ भनेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’
मन्त्री अधिकारीले दुग्ध विकास संस्थानले जनतासँग उधारोमा दूध किनेर पैसा नतिर्न सुहाउँछ भन्दै प्रश्न गरे । ‘६५ रुपैयाँमा किनेको दूध ९५, ९८ र १०० रुपैयाँ लिटरमा बिक्री गरेर बीचमा ३० रुपैयाँ पनि लिने, त्यसको मक्खन पनि झिक्ने अनि किसानलाई चाहिँ पैसा छैन भनेर नदिने, यस्तो मुलुक अन्त कतै पाइएला ?’ उनले सोधे ।
मन्त्रीमा पद बहाली भएपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको बताउँदै डेढ अरब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको बताए ।
मन्त्री अधिकारीले कर्मचारी समायोजनको समस्याले एक महिनासम्म राम्ररी काम गर्न नसकिएको र आफू अप्ठ्यारो अवस्थामा मन्त्रालयमा आइपुगेको बताए । ‘मन्त्रालयमा अप्ठ्यारा छन्, उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दशैंको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ,’ उनले भने ।
किसानलाई तत्काल बिमा निर्धारण गर्न फाइल अर्थ मन्त्रालय पठाए पनि त्यहाँबाट सहमति प्राप्त नभएको मन्त्री अधिकारीले जानकारी दिए । राज्यप्रति जनताको भरोसा टुटेकोले उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने उनले बताए ।
मन्त्री अधिकारीले कृषि मन्त्रालय र साँच्चैका किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर लागि परेको जिकिर गरे । ‘राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्विकार्दै यसलाई काँग्रेस-एमाले गठबन्धनले पनि व्यवस्थापन गर्न नसके जनतालाई उत्साह जगाउने काम कसले गर्छ रु’ उनले भने, ‘त्यसैले जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिंदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
हदबन्दी मिचेर राखिएको जग्गा सरकारको स्वामित्वमा ल्याउँछौँ : मन्त्री अधिकारी
हाउजिङ कारोबारमा कानुनी अनुशासन ल्याउन विधेयक ल्याइएको हो, सतही हल्ला नगर्नुहोस् : मन्त्री अधिकारी
काँग्रेसद्वारा मन्त्री अधिकारीको ३२ लाख घुसको अडिओबारे छानबिन गर्न माग
आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै अडियो काण्डमा मुछिएका मन्त्री अधिकारी
निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी