काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई महिना बित्न लाग्यो, तर प्रहरीले अझै केही भेउ पनि पाउन सकेको छैन ।
आधा दर्जन अनुसन्धान टोलीले हत्याको अनुसन्धान गरेका छन्, तर पनि हात लाग्यो शून्य भइरहेको छ । खोजी गरे पनि दोषी अझै पत्ता लाग्न सकेको छैन । निर्मलाको शव जलिइसकेको छ, प्रहरीले यसअघि धेरै प्रमाणहरु नष्ट गरिसकेको हुनाले अनुसन्धानमा धेरै बाधा आइरहेको छ । निर्मलाको शवको तस्बिर हेरेर अनुसन्धान गर्न सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।
यसैबीच निर्मलाविरुद्धको अपराध उखुबारीमै भएको हुन सक्ने सम्भावनातर्फ पनि प्रहरीले संकेत गरेको छ । निर्मलाले उखुको बोट समातेको हुनाले प्रहरीले यसतर्फ संकेत गरेको हो । तर अपराधीले बाहिरबाट हत्या गरी त्यहाँ फालेको र हातले उखु समातेको जस्तो बनाइदिएको हुनसक्ने तर्फ पनि प्रहरीको ध्यान गएको छ ।
साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । निर्मलाको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट खुलिसकेको छ । यस्तो अवस्थामा निर्मलाको हत्या कहाँ र कसरी भएको थियो भन्नेमा प्रहरी अनुसन्धानले केही पत्तो पाउन सकेको छैन । खाली अनुसन्धान मात्र गरिरहेको छ ।
जारी अनुसन्धानमा रहेको एक टोलीले उखुबारीमै घटना भएको दाबी गरेको छ भने स्थानीय यो कुरा स्वीकार्न तयार छैनन् । स्थानीयले अन्य स्थानमा हत्या भएर उखुबारीमा शव ल्याएर फालिएको दाबी गर्दै आएका छन् । उनीहरुको मुख्य माग नै कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्वलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने रहेको छ ।
घटनास्थलमा पुगेको प्रहरीको टोलीले निर्मलाको शव भेटिएको स्थानको शिलबन्दीसमेत गरेको थिएन । कुनै पनि आपराधिक घटना भएको स्थानलाई पहिले प्रहरीले ‘सिल’ गरेर घटनास्थलको विश्लेषण, अनुसन्धान गर्ने गर्दछ । तर, निर्मलाको शव भेटिएको स्थानमा प्रहरीले संवेदनशीलता नदेखाएको स्थानीय आरोप लगाउँछन् ।
भदौ ४ गते तत्कालीन कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले निर्मला हत्याका मुख्य अभियुक्त भन्दै भीमदत्तनगर–१९ का दीलिपसिंह विष्टलाई सार्वजनिक गर्यो । तर दीलिपलाई सार्वजनिक गर्नु नै प्रहरीको ठूलो कमजोरीमात्रै बनेन, त्यसपछि चर्किएको आन्दोलनमा प्रहरीको गोली प्रहारबाट स्थानीय शनि खुनाले ज्यानै गुमाए । प्रहरीले दीलिपको डीएनए म्याच गरेर मात्रै सार्वजनिक गर्नुपथ्र्यो । प्रहरीले किन दीलिपलाई अभियुक्तका रुपमा उभ्याउन हतार गर्यो ? आज यही प्रश्न अनुत्तरित भएको छ ।
सबै अनुसन्धान हालसम्म शून्य
निर्मला हत्याको अनुसन्धानका लागि विभिन्न आधा दर्जन टोली कञ्चनपुरमै सक्रिय छन् । निर्मला हत्याको अनुसन्धानका लागि सीआईबीका एसएसपी ठाकुर ज्ञवालीसहित, प्राविधिक टोली, क्राइम सीन विज्ञ टोली, महिला तथा बालबालिका सम्बन्धी विज्ञ टोली र कञ्चनपुर प्रहरीको आफ्नो छुट्टै टोली छ । यीबाहेक राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी बलको टोलीले पनि अनुसन्धानमा सघाइरहेको छ ।
हरेक टोलीले छुट्टाछुट्टै पनि अनुसन्धान गरिरहेको छ । नयाँ टोलीले ठोस प्रमाण हात पार्न सकेको छैन । प्रहरीले अनुसन्धानका क्रममा ५ सय बढीलाई सोधपुछ गरेको र केही व्यक्तिलाई गोप्य रुपमा निगरानीमा राखेको छ ।
नेपाली सेना पनि निगरानीमा
प्रहरीले यतिबेला विभिन्न व्यक्तिलाई निगरानीमा राखेको छ । यसमा राजनीतिक दलका केही नेता, व्यापारी, आपराधिक पृष्ठभूमिका व्यक्ति र नेपाली सेनाका सदस्यहरुलाई पनि निगरानीमा राखेर अनुसन्धान सुरु गरेको छ ।
निर्मलाको शव भेटिएको स्थानभन्दा १ किलोमिटर क्षेत्रमा नेपाली सेनाको ब्यारेक रहेकाले केही सेनाका जवान अनुसन्धानको घेरामा रहेको स्रोतले जनायो । ‘४ जना नेपाली सेनाका जवानलगायत अन्य विभिन्न व्यक्तिहरु अनुसन्धानको घेरामा छन् । उनीहरुको गतिविधिमाथि अनुसन्धान जारी राखिएको छ’ स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस