काठमाडौं। लन्डन–उत्तरपूर्वी इङ्ल्यान्डको सन्डरल्यान्डमा शुक्रवार साँझ भएको हुलदङ्गामा आफ्ना अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको बेलायतको प्रहरीले जनाएको छ । यस हप्ताको शुरूमा भएको सामुहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदङ्गा भएको हो ।
घण्टौँको हुलदङ्गापछि आठ जनालाई पक्राउ गरिएको र तीन प्रहरी अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको नर्थम्ब्रिया प्रहरीकी वरिष्ठ उपरीक्षक हेलेना ब्यारनले बताइन् ।
बीबीसीले प्रसारण गरेको फुटेजमा सन्डरल्यान्डको सिटी सेन्टरमा सयौंको भीडले प्रहरीमाथि आक्रमण गरेको देखिएको थियो । एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको पनि फुटेजमा देख्न सकिन्छ ।
‘हामीले शुक्रवार साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्यहरू पूर्ण रूपमा अस्वीकार्य छन्,’ ब्यारनले भनिन्, ‘अव्यवस्था, हिंसा र क्षति सहन गरिने छैन ।’पक्राउ परेका आठ जनाबाहेक अन्य संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान भइरहेको उनले जानकारी दिइन् ।
त्यहाँ भएका घटनाको जवाफमा आन्तरिकमन्त्री यभेट कुपरले दङ्गाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताए ।‘उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्,’ कुपरले भने ।
यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले बताएको थियो ।प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्य गर्ने जो कोहीलाई कानूनको दायरामा ल्याउने वाचा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १५ : २५
लेखकबाट थप