विश्व पशु दिवस

राँगाभैंसीको यातना देख्दा आँखा रसाउँछन्

विहीबार, १८ असोज २०७५, १७ : १०
राँगाभैंसीको यातना देख्दा आँखा रसाउँछन्

चितवन । नाक छेडेर डोरीले बाँधेर ट्रकमा कोचिएका राँगाभैंसीको नाकबाट रगत बगेको छ । मुखबाट फिँज आइरहेको छ । आँखाबाट रगत मिसिएको आँसु झरिरहेको छ । डोरीले पुच्छर कसेर ट्रकका डन्डीमा बाँधिएको छ । नकराउन भनेर मुख पनि कसिएको छ । एउटा ट्रकमा ३५ देखि ४० वटासम्म राँगाभैंसी कोचेर पूर्वी तराईका जिल्लाबाट अत्यन्तै यातनापूर्वक निर्दयी तरिकाले काठमाडौं ल्याइने गरेको दृष्य भरतपुरका सडकमा बेला बेला देखिन्छ । राँगाभैंसीको यातना हेर्दा सबैका आँखा रसाउँछन् । 
राँगाभैंसीको कष्टपूर्ण ओसारपसार र पशु अत्याचारबारे ०५६ सालमा पशु कल्याणसम्बन्धी मापदण्ड तयार भइसकेको जिल्ला पशु कार्यालयका प्रमुख डा चेतनारायण खरेलले बताउनुभयो । ०६४ सालमा मापदण्डमा संशोधन पनि गरिएको छ । तर कार्यान्वयनमा अझै आउन नसकेको उहाँको भनाइ थियो । उहाँले पशु ढुवानी मापदण्ड बने पनि कार्यान्वयन नभएको बताउनुभयो । 
पशु मापदण्ड, २०६४ को परिच्छेद २ को (४) मा पशु ढुवानी गर्दा उनीहरूलाई हलचल गर्ने ठाउँ चाहिने, घाउचोट लाग्न नहुने, बाँधेर कोच्न नमिल्ने, दुई जना चरुवाले दानापानीको व्यवस्था गर्नुपर्ने र आरामपूर्वक ढुवानी गराउनुपर्ने उल्लेख छ । तर व्यवहारमा कार्यान्वयन भएको छैन । प्रत्येक दिन उपत्यकामा ५÷६ सय राँगाभैंसी भित्रिन्छन् र सबैको नियति यस्तै दर्दनाक र विभत्स छ ।
डा खरेलले पशु कल्याण ऐन बने पनि पूरा कार्यान्वयनमा आउन नसकेको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, ‘यो हेर्ने निकाय भनेको पशु क्वारेन्टाइन हो ।’ उहाँका अनुसार राजधानीबाहिर रामनगर, पथलैया, दाङ र कैलालीलगायतमा पशु क्यारेन्टाइन छ । उहाँले पशुमाथि अत्याचार रोक्न आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । ‘यस्ता विषयमा क्याबिनेटले नै सुनुवाइ गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘ऐनको दफा २७ मा पशुप्रति गरिने निर्दयी व्यवहारमा रोक लगाउन सकिने प्रावधान रहेको छ, तर कार्यान्वयनमा अझै जटिलता छ । पशु कल्याण निर्दे्शिका, ०७३ अनुसार कडाइ गर्नुपर्ने उहाँको भनाइ थियो । 
जिल्ला ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले पशुको यातनाको विषयमा पशु क्यारेन्टाइनले मात्र हेर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाडीको क्षमताभन्दा बढी राँगाभैँसी हाले ट्राफिकले हेर्ने कुरो भयो तर यसो जिम्मा भनेको पशु क्वारेन्टाइनले नै हो ।’
रामनगर क्वारेन्टाइन चेकपोष्टका प्रमुख रामकिशोर शाहले पशुलाई यातना दिने काममा पहिलेको भन्दा धेरै सुधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आएको बल्ल दुई हव्ता भयो, यो बीचमा राँगाभैँसीलाई यातना दिएर ल्याउने ४ वटा ट्रकलाई सचेत गराइएको र एउटालाई कारबाहीस्वरुप फिर्ता गरिएको छ ।’ उहाँले अझ नियमलाई कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभयो ।  


 

प्रतिक्रिया दिनुहोस