के गुण्डा नाइके समिरमानसिंह बस्नेतलाई ‘इन्काउन्टर’ नै गर्न खोजिएको थियो ?

सफल खबर संवाददाता

विहीबार, १८ असोज २०७५, १५ : ४८
के गुण्डा नाइके समिरमानसिंह बस्नेतलाई ‘इन्काउन्टर’ नै गर्न खोजिएको थियो ?

काठमाडौं  । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त  गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ ।

बुधबार बस्नेतका परिवारले राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । 
बस्नेतकी श्रीमती माया शेरचन र दाइहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समिरलाई काठमाडौंबाट रातारात मुस्ताङ पुर्याएको भन्दै आपत्ति जनाएका हुन्  । 

बस्नेतकी श्रीमती शेरचनले भनिन्, ‘मलाई जानकारी नै नगराई रातारात उहाँलाई मुस्ताङ लगियो । त्यो दिन राती ६ बजे मुस्ताङ लगिँदैछ भनेर जानकारी दिईएको थियो । म चाहीँ मोटरसाईकलबाट पोखरा गएँ । पोखरामा श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर उहाँलाई पनि थाहा नभएको कुरा मसँग भन्नुभयो ।’

त्यही दिन मुस्ताङको लागि लग्ने कुरा भएपनि माथिको आदेश नभएको भन्दै बेनीमै बस्नेतलाई राखिएको उनले जनाइन् । उनले भनिन्,‘भोलिपल्ट मुस्ताङको लागि उहाँलाई त्यहाँबाट जीपमा हालेर लगिएको थियो ।’

उनले आफूलाई प्रहरी प्रशासनले श्रीमानसँग भेट्नसमेत नदिएको गुनासो पोखिन् । उनले भनिन्,‘उहाँलाई काठमाडौंबाट किन लगियो भन्नेमा हामीलाई शंका छ । उहाँको केश त यहीँ काठमाडौंमै छ । किन काठमाडौंबाट उता लगियो यसमा हाम्रो घोर आपत्ति छ । सोमबार उहाँलाई मुस्ताङको लागि लगिएको भनिएपनि मंगलबार अपरान्हमात्रै उहाँलाई त्यहाँ पुर्याईयो । यतिवेला उहाँलाई जोमसोम कारागारभित्र राखिएको छ । आज विहानमात्रै मैले उहाँसँग जम्मा ४ मिनेट भेट्ने मौका पाएँ । भेट्दाखेरी उहाँको घाँटीमा दाग देखें र मैले यसबारेमा श्रीमान्सँग जिज्ञासा राखेको थिएँ । तर, उहाँले धागो निकाल्दाखेरी यस्तो भएको हो भन्नुभयो । त्यसमापनि मलाई शंका छ ।’

उनले आफ्नो श्रीमानलाई प्रहरी प्रशासनले यसरी काठमाडौं बाहिर लैजानुमा शंका उत्पन्न भएर आज पत्रकार सम्मेलन गर्न आएको पनि बताइन् । उनले आफ्नो श्रीमानलाई प्रहरीले इन्काउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाइन् । 

मायाले समिरलाई काठमाडौंबाट पोखरासम्म विमानमा लगिएको तर पोखराबाट मुस्ताङको खराब बाटोमा चाहीँ स्थलगत मार्ग हुँदै लगिएकोमा पनि आपत्ति जनाइन् । 

कार्यक्रममा समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्ण प्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने बताउँदै नागरिकहरुको मानव अधिकारको प्रत्याभुति गर्नुपर्ने बताए । 

बस्नेतका परिवारले राज्यले आफ्नो दायित्वबाट विमुख नहोस् भन्ने चाहेको सुनाउँदै शर्माले बस्नेतको जीवन रक्षाको माग गरे । 

कार्यक्रममा समिरका दाईहरु सुधिरमानसिंह र सुविरमानसिंहले पनि भाईको जीवन रक्षाको माग गरे । 

गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई यही असोज १५ गते सोमबार मुस्ताङ लगिएको हो । गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा गत मंसिरमा बस्नेतलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस