जोमसोम । चीनसँग सीमा जोडिएको कोरला नाका तथा उपल्लो मुस्ताङ जोड्ने वारागुङ मुक्तिक्षेत्र-३ छुसाङ नरसिंह खोलामा निर्माणाधीन पुल बनेपछि त्यस क्षेत्रका स्थानीय एवं पर्यटकलाई आवतजावतमा सहज भएको छ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले निर्माण गरेको ९० मिटर लामो पुल आइतबार बिहानदेखि सञ्चालनमा आएको हो।घरपझोङ-२ मार्फा र वारागुङ मुक्तिक्षेत्र-३ छुसाङ नरसिंह खोलामा पक्की मोटरेबल निर्माणका लागि आयोजनाले २१ करोड लागतमा हिमढुङ ठोक्कर ईमोटल जेभीले २०७५ साल भदौ ६ गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता अवधि ३ वर्ष रहेको मार्फा राज खोला पुल र छुसाङ नरसिंह खोला पुल २०७८ साल भदौमा सकिनुपर्ने थियो।
तर, पुलको सम्झौता अवधि कटेको ४ वर्षपछि बल्ल नरसिंह खोलामा पुल बनेको हो। निर्माण कम्पनीले जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा छुसाङको नरसिंह खोलामा निर्माणाधीन पुल अलपत्र पर्दै आइरहेको थियो। ३ स्पानको ९० मिटर लम्बाइको पुल अलपत्र परेपछि (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको समन्वयमा कम्पनीले ८० प्रतिशत भौतिक प्रगति हुँदा अमित बिल्डर्सलाई पुलको अधुरो कार्य पुरा गर्न प्याकेजमा सहमति गरी जिम्मा दिएको थियो।
अधूरो पुलका लागि अमित बिल्डर्सले दुई महिना खर्चिएर पुलको उत्तर/दक्षिण एप्रोज रोड विस्तार ,स्ल्याप ढलान र पुलको फिनिसिंङका कामलाई तीव्रता दिएको थियो।
वारागुङ-३ छुसाङको नरसिंह ठाडो खोलामा पुल नहुँदा बर्खायाममा बर्सेनि उपल्लो मुस्ताङ जाने सवारी साधनलाई निकै सास्ती हुने गर्थ्यो। जोखिम मोलेर खोलबाट सवारी तार्दा सवारी फस्ने,बगाउने र सवारीको इन्जिन बिग्रने जोखिम थियो। वारागुङ-३ का वडाध्यक्ष बिनोद गुरुङले निर्माणाधीन छुसाङको नरसिंह खोला पुल आइतबारदेखि सञ्चालनमा आएको बताए।
उनले तत्काल हलुका सवारी साधनलाई मात्रै खुला गरिएको वडाध्यक्ष गुरुङले बताए। छुसाङमा निर्माणाधीन पक्की पुल सञ्चालनमा आएकाले अब उपल्लो मुस्ताङको यात्रा निकै सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ साउन २०८१, १५ : ११
लेखकबाट थप