निर्मला हत्या प्रकरण

विद्यार्थी संगठनले मागे प्रहरी महानिरीक्षक खनालको राजीनामा

विहीबार, १८ असोज २०७५, १४ : १८
विद्यार्थी संगठनले मागे प्रहरी महानिरीक्षक खनालको राजीनामा

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कार्वाही गर्न नसकेको र हत्याका दोषीलाई पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा मागेका छन् । 
आज गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेपछि त्यसको नेतृत्व लिएका महानिरीक्षक खनाललाई तत्काल बर्खास्त गर्न गृहमन्त्री थापालाई दबाब पनि दिएका हुन् । 
निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी महानिरीक्षक खनालले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको अनुरास्ववियूकी अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो । उहाँले जनताको जीउधनको सुरक्षा दिन नसकेको भन्दै गृह प्रशासनको चर्को आलोचना समेत गर्नुभएको थियो ।
गृहमन्त्री रामबहादुर थापा बादलले विद्यार्थी संगठनका प्रतिनिधिहरुलाई निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेकोमा सरकार चिन्तित रहेकोे बताउनुभयो । गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई छिट्टै पक्राउ गरी कार्वाही गर्ने प्रतिबद्धता गर्नुभयो उहाँले उच्चस्तरीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा निर्मला पन्त हत्याकाण्डको छानविनको कामलाई तीव्रता दिइएको पनि बताउनुभयो । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले गृहमन्त्री थापालाई बुझाएको ज्ञापन पत्रमा निर्मला हत्याकाण्डको छानवीनका लागि गठित उच्चस्तरीय समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको छ । त्यसैगरी जनजीविकाको पक्षमा राहत प्याकेज कार्यक्रम घोषणा गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस