चाडपर्वमा विशेष सुरक्षा योजना

विहीबार, १८ असोज २०७५, ०९ : १०
चाडपर्वमा विशेष सुरक्षा योजना

कञ्चनपुर  । नजिकिँदै गरेका दशैँ र तिहारलगायत चाडपर्वमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आपराधिक घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । 

योजनाअनुसार २४सै घण्टा प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको र मातहतका एकाइका संवेदनशील स्थान, सीमा नाका, तथा राजमार्गमा पनि कडाइका साथ जाँच गर्नाका साथै राजमार्ग, बजार क्षेत्रमा मोबाइल गाडी, मोटरसाइकल र साइकलबाट गस्तीको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । 

आपराधिक गतिविधि हुने संवेदनशील स्थान पहिचान गरी प्रहरी खटाएका छौँ उहाँले भन्नुभयो, “महत्वपूर्ण स्थान, रेष्टुरेण्टमा गैरकानूनी क्रियाकलाप हुन नदिन खानतलासीको व्यवस्था पनि मिलाइएको छ ।” 

प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार भीमदत्तनगर बजार क्षेत्रको बसपार्कमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ । भारतबाट वैदेशिक रोजगारी गरी सीमा नाका गडडचौकी भएर फर्किने नागरिकको सहयोगका लागि प्रहरीले इप्रका गडडचौकीमा नागरिक सहायता कक्ष राखेको छ । 

“सीमा नाकामा लागूऔषधलगायत अन्य अवैधरूपले ल्याइएका वस्तु जाँचका लागि तालीमप्राप्त कुकुर प्रयोग गरिने व्यवस्थासमेत गरेका छौँ ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार बजार र अन्य क्षेत्रमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गरिने छ ।”    (रासस) 

प्रतिक्रिया दिनुहोस