खानेपानी मन्त्री स्वेदश फर्किंदै भन्नुभयो, ‘सरसफाइ तथा ढलको क्षेत्रमा गम्भीर हुनु पर्ने समय आयो’

सफल खबर संवाददाता

बुधबार, १७ असोज २०७५, १६ : ०५
खानेपानी मन्त्री स्वेदश फर्किंदै भन्नुभयो, ‘सरसफाइ तथा ढलको क्षेत्रमा गम्भीर हुनु पर्ने समय आयो’

काठमाडौं । खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई आज बुधबार स्वदेश फर्कनु भएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खानेपानी मन्त्री मगरले सम्मेलनमा सहभागी सबै राष्ट्रहरुले सरसफाईको क्षेत्रमा साझा संकल्प बनाउनु पर्नेमा जोड दिएको जानकारी दिनुभयो । उहाँले सरसफाई क्षेत्र सबैका लागि साझा एजेण्डा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबै राष्ट्रले सरसफाई तथा ढलको बारेमा चिन्ता र चासो देखाएका छन् । नेपालले सरसफाईको क्षेत्रमा अरुको भन्दा राम्रै उपलब्धि हासिल गरेको छ । ढलको व्यवस्थापन गर्नु अहिले सबै राष्ट्रका लागि चिन्ताको विषय बनेको देखियो । हामी पनि ढलको समुचित व्यवस्थापनमा जोड दिईरहेका छौं ।’ 
मन्त्री मगरले राज्यका सबै निकायले सरसफाई र ढलको क्षेत्रमा विशेष गम्भीर भएर सोच्नुपर्ने अवस्था आईसकेको बताउनुभयो ।  
उक्त सम्मेलनमा भाग लिन उहाँ गत शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । 
महात्मा गान्धीको १५० औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा नेपालको तर्फबाट उहाँले भाग लिनु भएको थियो । सम्मेलनमा खानेपानीमन्त्री सहित खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक सुनिलकुमार दास समेत सहभागी हुनु हुन्थ्यो । उक्त सम्मेलनमा ६० भन्दा बढी देशका खानेपानी तथा सरसफाई मन्त्रीहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस