चितवन । २०७५ असोज १७ गते काँग्रेस र माओवादीबीच सरकार चलिरहेका बेला गुप्तशैलीमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको गाँठो कसिलो बन्यो । सहमतिअनुसार एमाले र माओवादी प्रतिनिधि सभा निर्वाचनतर्फ १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा मिलेर चुनाव लडे । उनीहरूलाई सानदार जित पनि मिल्यो र केपी ओली नेतृत्वको सरकार पनि गठन भयो । अहिले सरकारको बागडोर प्रधानमन्त्री ओलीले लिइरहेका छन् । गठबन्धनले कांग्रेसमा दुर्घटना नै भयो । कुनै समय देशकै ठूलो पार्टी बनिरहेको कांग्रेस अहिले प्रतिपक्षमा खुम्चेको छ ।
बाम गठबन्धन त्यसै भएको होइन, राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, देशलाई विकास, समृद्धि र सामाजिक न्यायतर्फ अगाडि लिएर जाने प्रतिबद्धता गरेपछि जनताले विश्वास गरी नेकपालाई दुई तिहाइ मतसहित अहिले सरकारमा पुयाएका हुन् । तर जनतामा निराशा देखिन थालेको छ, ओली सरकारले पनि केही गर्दैन भन्ने भावन जनतामा आउन थालेको छ । हुन त ओली सरकारको यो छोटो सत्तासीन समयमा मूल्यांकन गर्ने बेला भएको पनि छैन, तर हुने बिरुवाको चिल्लो पात भनेजस्तो सुरुकै अवस्थामा पनि जनतामा आशा बढाउने काम गर्न सकिने थियो, तर त्यो देखिएको छैन ।
नेकपा सङ्घीय संसदमा बहुमत, सातवटा प्रदेश सभामध्ये छवटा प्रदेश सभामा बहुमतमा छन् । दुई नम्बर प्रदेशसभामा बहुमतमा त छैन, तर त्यहाँ पनि ठूलो पार्टी भइसकेको छ । तर पनि विकासमा यो सरकारले काँचुली फेर्न सकेको छैन । पाटीभित्र असन्तुष्टि बढिरहेको छ । गुट उपगुट भइरहेको छ । किन यस्तो भयो त ? नेकपाका महासचिव तथा गठबन्धनका सुत्रधार मानिने विष्णु पौडेलले भन्नुभयो, ‘नेकपाभित्र जनताले गुटको अस्तित्व देख्ने खालको क्रियाकलाप कहीँ कतैबाट भयो भने त्यो गलत हुन्छ । हामी नेपाल कम्युनिस्ट पार्टीलाई गुटको फेडरेसन होइन एउटा एकताबद्ध सुदृढ पार्टीका रूपमा अगाडि बढाउन चाहेका छौँ । हाम्रा आजसम्मका समस्त क्रियाकलाप त्यही उद्देश्यका निम्ति केन्द्रित छन् ।’
उहाँ भन्नुहुन्छ, ‘हामी गुटलाई समाप्त गर्छौं । पार्टीलाई विधिका साथ एकताबद्ध भएर सञ्चालन गर्छौं ।’ उहाँका अनुसार पार्टी विधिमा चलेको छ । अब पनि चल्छ । दुई अध्यक्षमा अधिकार केन्द्रित गर्ने हाम्रो सोच पनि छैन । अध्यक्षहरू स्वयम्ले त्यसरी चाहनु भएको छैन । सम्पूर्ण रूपमा भन्ने हो भने पार्टी सदस्यहरूमा अधिकार छ । हामी अब स्थायी कमिटीको बैठकमा आवश्यक गृहकार्यसहित जान्छौँ ।
एकतापछिका काम अलपत्र परेको नेता पौडेलको भनाइ छ । उहाँले भन्नुहुन्छ ‘जसरी पार्टी एकता भयो, त्यसपछि गर्ने भनिएका काममा भने सुस्तता अवश्य छ । जेठ ३ गते पार्टी एकता गर्दा भनिएको थियो– तीन महिनाभित्र आधारभूत तहमा पार्टी एकताको काम सकिन्छ । आज चार महिना बितिसकेको छ तर ती कुनै पनि काम हुन सकेको छैन ।’ उहाँका अनुसार यो झण्डै ५ महिने कार्यकालमा आधारभूत तहमा पार्टी अस्तव्यस्त छ । जिल्ला, गाउँ र नगर पार्टी कमिटीहरू छैनन् । प्रदेश कमिटीको नेतृत्व चयनमा विवादास्पद ढङ्गले काम गरिएको छ । एकताको मर्म र उत्साहमा यी कामहरूले गम्भीर असर पारेका छन् । किनभने यसमा नेकपाको सफलता, असफलता मात्रै जोडिएको छैन, देशको सफलता, असफलता जोडिएको छ ।
पछिल्लो समय नेकपामा वाकयुद्ध
पछिल्लो चरणमा नेताहरूको बीचमा केही बेमेलहरू देखा परेका छन् । खासगरी गत आसोज ५ गते केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गर्दा पर्याप्त छलफल र गृहकार्य गरेन । नेता पौडेलले भन्नुभयो, ‘वरिष्ठ नेता माधवकुमार नेपाल दुवै अध्यक्षहरूसँग सल्लाह गरेर केही दिनका लागि देश बाहिर हुनुहुन्थ्यो । अध्यक्ष केपी शर्माले म पनि अमेरिका जान्छु, म र तपाईं दुवै फर्केर आएपछि छलफलका आधारमा निर्णय गरौँला भन्नुभएको थियो । तर के कारणले हो बीचैमा प्रदेश कमिटीको निर्णय गरियो । त्यो निर्णय अनुपयुक्त, अनुचित र सबैका लागि स्वीकार्य नभएको निर्णय भयो ।’
उहाँका अनुसार यस्ता दीर्घकालीन असर पर्ने कुराहरूको समाधान फराकिलो ढङ्गबाट खोजौँ, स्थायी समितिबाट टुङ्ग्याऔँ’ भन्ने हो । मुख्य नेताहरू सबै स्थायी समितिमा भएकाले सबैको स्वामित्व पनि हुने भएकाले उहाँले त्यो प्रस्ताव राख्नुभएको हो । नौ सदस्यी सचिवालयका दुई जना सदस्य बाहिर भएको बेला हतारमा प्रदेश कमिटीको छनोट गर्नाले विवाद उत्पन्न भयो । त्यस घटनापछि नेताहरूका अभिव्यक्ति त्यति कणप्रि छैनन् कार्यकर्ताका लागि पनि । तर नेताहरू सच्चिनुको विकल्प छैन ।
तत्कालीन माओवादीमा पनि समस्या
उहाँका अनुसार पार्टी एकताकै क्रममा तत्कालीन एमालेमा मात्रै होइन, माओवादीमा पनि केही समस्या देखिएका छन् । नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट राजीनामा दिएको विषय पनि यो अवधिमा चर्चाको विषय बन्न पुग्यो । कतिपय हिजोका पोलिटब्युरो सदस्यहरूले लिखित रूपमा अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएको पनि सुनियो । ‘चार हजारको केन्द्रीय समितिबाट ३८ सय मान्छेलाई बाहिर राखेर २ सय मान्छे छान्न मलाई कम चुनौती थिएन’ एक दिन अध्यक्ष प्रचण्डले भन्नुभएको पनि थियो । हिजो पोलिटब्युरोमा भएका कतिपय मानिस आज जिल्लामा छन् । तर त्यसमा कार्यकर्ताको दोष थिएन । तर पनि प्रचण्डले त्यो अवस्थलाई सहजीकरण गर्नुभयो’ नेता पौडेलले भन्नुभयो ।
खोई राजनीतिक दस्तावेज ?
नेकपाको विधान पनि निर्धारित समयभन्दा ढिलो आयो । पार्टी एकता घोषणाको आज एक वर्ष पुग्दैछ । तर अहिलेसम्म पार्टीको राजनीतिक दस्तावेज आएको छैन । महासचिव पौडेलले भन्नुभयो, ‘यो एक वर्षसम्म नेकपाका नेता कार्यकर्ताले कस्तो राजनीतिक दस्तावेज बन्यो भनेर देख्न र पढ्न पाएका छैनन् । एउटा राजनीतिक पार्टीका लागि योभन्दा दुःखको कुरा अरू केही बन्न सक्दैन ।’ उहाँले विचार, नीतिद्वारा र कार्यक्रमबाट निर्दे्शित हुने भनिएको पार्टीमा एक वर्षसम्म राजनीतिक दस्तावेज नै नहुनु दुर्भाग्य भएको बताउनुभयो ।
नेता कार्यकर्तामा मात्रै होइन, आम जनताले नेकपाबाट ठूलो आशा र अपेक्षा राखेका छन् । त्यो आशा र अपेक्षा मर्न नदिने नेता पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस